जन सरोकार

नक्कली परिचयपत्र र प्रेस ज्याकेटबिरुद्ध प्रहरी आक्रामक- एउटा कार्डको ५ सयमा बेच्ने गिरोह पक्राउ

लकडाउन भएपछि उपत्यकामा हिंडडुल गर्न पत्रकारको नक्कली परिचयपत्र र प्रेस लेखेको ज्याकेट बनाएर विक्री वितरण गर्नेहरुको खोजी भरहेका बेला काठमाडौंको बागबजारबाट नक्कली परिचयपत्र बनाउँदै गरेकालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाई प्रतिकार्ड रु ५०० भन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले न्यौपानेसहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भई काठमाडौँ भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भई हाल धापसी बस्ने राजेन्द्रराज भण्डारी रहेको थापाले जानकारी दिनुभयो । उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ ।

लकडाउन र निषेधाज्ञाका बेला संचार माध्यमहरुलाई परिचयपत्रको आधारमा आवतजावतमा रोक नलगाइने भएपछि पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले प्रेस ज्याकेट लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी गरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

केही दिन अघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै एक हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारवाही थालेको छ । प्रहरीका अनुसार पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा आएका जथाभावीका सूचना प्रवाह गरेर र यूट्यूबमा आएका सामग्रीलाई हेरेर मानिसले पत्रकारका विषयमा नकारात्मक धारणा बनाउने गरेका छन् । यस्ता घटनाले वास्तविक पत्रकार प्रभावित हुँदै आएका छन् ।

पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासङ्घले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.