जन सरोकार

पद्धति र प्रणालीको कसीमा प्रधानसेनापतिको दुई वर्ष

महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औँ प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको आज मंगलबार ठीक दुई वर्ष पूरा भएको छ । सङ्गठनको नेतृत्व लिएसँगै उहाँले ‘आफैँबाट आजैदेखि परिवर्तनको शुरुआत गरौँ’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गर्नुभएको थियो ।

उक्त लक्ष्यसहित १५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम गर्न सबै तहका कमाण्डरलाई निर्देशन दिएकोमा क्रमश: कार्यान्वयनको चरणमा छ । प्रधानसेनापति थापाले मुख्यरुपमा सङ्गठनभित्र पद्धति र प्रणालीको विकास, आर्थिक अनुशासन, चेनअफ कमाण्ड, व्यावसायिकता, साङ्गठनिक सुधार र स्थापित मूल्यमान्यताको अनुशरणमा जोड दिँदै आउनुभएको छ ।

नेतृत्व हस्तान्तरणको अर्को वर्षको कार्यक्रम तय गर्नु अघि नै सङ्गठनका ‘क्यान्सर’लाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ– पदबहालीको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित समारोहमा प्रधानसेनापति थापाले भन्नुभएको थियो ।

सङ्गठनमा देखिएका बेथिति, विकृति र विसङ्गतिलाई प्रश्रय दिन हुन्न भन्ने दृढताका साथ चालिएका कदम ठीक मार्गमा अघि बढिरहेको बताइएको छ । यद्यपि, सङ्गठनमा अझै पनि ‘एलिट गु्रप’ कामय छ, त्यो समूहले सरुवा, सेवा, सुविधालगायत कतिपय विषयमा चलखेल गरिरहन्छ, सङ्गठनमा केही हदसम्म नातागोता, लाभ र मोलायजा अझै हटिसकेको छैन, त्यसलाई पूर्णरुपले निस्तेज तुल्याउने चूनौति छ, नेतृत्वले त्यो बेथितिलाई रोक्न अझै धेरै मेहनत र चनाखो हुनुपर्र्छ– उहाँका पूराना सहपाठी भन्नुहुन्छ ।

सेनालाई योजनाबद्धरुपमा सबल, सुदृढ र सक्षम ढङ्गबाट लैजान दीर्घकालीन सोच तयार गर्न प्रधानसेनापति थापाले भिजन, २०३० अघि सार्नुभएको थियो । उक्त भिजन पूर्णरुपमा कार्यान्वयनपश्चात् सेनाको साङ्गठनिक संरचनामा पुनः संरचना भई आधुनिक हात हतियार तथा उपकरणले सुसज्जित, गतिशील, भरपर्दो र सन्तुलित सङ्गठनका रुपमा क्षमता अभिवृद्धि हुने विश्वास गरिएको छ । भिजन, २०३० मा सेनाको लडाइँ लड्ने क्षमता, फायर पावर, मोडालिटी, इन्टेलिजेन्स, सञ्चार प्रणाली, कम्ब्याट इञ्जिनीयरिङ, विशेष फौजको क्षमता अभिवृद्धि, बन्दोबस्ती अवधारणा र नागरिक सैनिक सम्बन्धमा परिणाम देखिने सुधार आउने अपेक्षासहित कार्यान्वयनमा लगिएको छ ।

अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले सङ्गठनभित्र पारदर्शीता र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा वर्तमान सैनिक नेतृत्वबाट चालिएको अग्रगामी कदमले सेनाको छवी राम्रो बनाउने विश्वास व्यक्त गर्नुभयो । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाको प्रमुख जिम्मेवारी नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु हो ।

प्रधानसेनापति थापाको नेतृत्वपछि पुरस्कार र दण्ड सजाय सम्बन्धि निर्देशिका लागू, गुनासो सुन्ने र निकास दिने संयन्त्र विकास, भर्ना छनोट प्रक्रियामा सुधार, सैनिक नीति नियममा समयानुकूल पुनरावलोकन, आचारसंहिता सप्ताह, आर्थिक सुशासनमा कडाइ, शान्ति सेना छनोटमा नयाँ कार्यविधि लागू र डिजिटाइजेसनको विस्तारजस्ता महत्वपूर्ण साङ्गठनिक सुधारका कदम कडाइका साथ चालिएको छ । सङ्गठनमा चालिएका सुधारका कदमले सेनामा नयाँ उर्जा प्रवाह भएको र नागरिक माझ सैनिक छवी उज्ज्वल हुँदै गएको दाबी गरिएको छ ।

“मैले हिरो बन्नका लागि वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमी कमजोरीमा सुधारको प्रयास थालेको होइन, कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु”, अघिल्लो वर्षका कार्यक्रममा उहाँले भन्नुभएको थियो । सङ्गठनका बाधा व्यवधानलाई पन्छाएर गलत पद्धति विकास हुन नसक्ने गरी बाटो बनाई दिने अठोट व्यक्त गर्दैै उहाँले भन्नुभएको थियो, “सेना आर्थिक पारदर्शीता कायम गर्ने र भ्रष्टाचारको विषयमा सून्य सहनशीलताको नीति अङ्गीकार गर्ने मामिलामा दृढ छ ।”

महारथी थापाको नेतृत्वपछि सेनाका उपल्लो तह ९उपरथी० सम्मलाई आर्थिक अनियमितमा संलग्न भएको ठहर गर्दै एकपछि अर्को गर्दै कारवाहीको दायरामा ल्याइएको छ । पछिल्लो समय सेनाका माथिल्लो तहका सैनिकले आफ्नो सम्पति विवरणसमेत वेबसाइटमार्फत सार्वजनिकीकरण गर्ने क्रम बढेको छ । कमाण्ड निर्देशन कार्यान्वनका हिसाबले कार्यकालको पहिला वर्षलाई आधार वर्ष, दोस्रोलाई कार्यान्वयन र तेस्रो वर्ष परिणाम एवं उपलब्धि प्राप्ति वर्षको रुपमा रहने अपेक्षा गरिएको थियो । नेपाली सेना राष्ट्र विकास, खेलकूद, विपद् व्यवस्थापन, वन्यजन्तु तथा पर्यावरणको संरक्षण र सुरक्षाको विकास र विस्तारको जिम्मेवारीमा संलग्न हुँदै आएको छ । जङ्गी अड्डाले प्रधानसेनापतिको मार्गनिर्देशनले परिकल्पना गरेअनुसार प्राप्त बजेटको सदुपयोग भए नभएको यकिन गर्न समयन्त्र गठन गरी अनुगमन र निरीक्षण गर्दै आएको छ ।

पछिल्ला दुई वर्षमा आफ्ना हिताधिकारीको सेवा र सुविधा विस्तारका साथै स्वास्थ्य, तालीम र शिक्षालय विस्तारमा समेत उल्लेखनीय प्रगति हासिल गरेको छ । मुलुकमा कोभिड–१९ को महामारीसँगै यसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागिसमेत नेपाली सेना अग्रपङ्क्तिमा रही राष्ट्रले सुम्पिएको जिम्मेवारी बहन गर्दै आएको छ । दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा कोभिड–१९ का कारण प्रधानसेनापतिले भर्चुअल माध्यमबाट सकल दर्जालाई बुधबार सम्बोधन गर्ने र जङगी अड्डामा छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यमका केही प्रधानसम्पादक तथा समाचार प्रमुखसँग हासिल भएको उपलब्धि र भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.