राजनीति

स्थानीय निकायमा एमाले छाडेर समाजवादी जाने न्यून

लुम्बिनी प्रदेशका एमालेका एक हजार ५६७ जनप्रतिनिधिमध्ये ७४ र चितवनका ३०९ छत्तीस मध्ये ३६ जना समाजवादीमा 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी) दलमा प्रवेश गर्ने प्रदेशगत स्थानीय तहका जनप्रतिनिधिहरुको संख्या न्यून देखिएको छ ।

लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा नेकपा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी (पश्चिम)–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ । गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

त्यसै गरी चितवन जिल्लामा नेकपा एमालेका ३०९ छत्तीस जनप्रतिनिधि मध्ये ३६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन आयोगमा पठाइने छ । नयाँ पार्टीका लागि दल रोज्नेमा माडीका तीन, राप्तीका दुई, रत्ननगर नगरपालिकाका १६ तथा भरतपुर महानगरपालिकाका १५ जनप्रतिनिधि रहेका छन् ।

उनीहरुमध्ये माडी र राप्तीका एक एक वडाध्यक्ष, रत्ननगरका चार वडाध्यक्ष र भरतपुरका पाँच वडाध्यक्ष तथा अन्य वडा सदस्य रहेका छन् । कालिका नगरपालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले भने दल परिवर्तन गरेका छैनन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको छ ।

जिल्लाका सात पालिकामध्ये नेकपा एमालेको चार नगरपालिकामा प्रमुख र उपप्रमुख रहेका छन् । निर्वाचन कार्यालयमा सनाखत भएकाको कागजात आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.