अन्तरवार्ता

एमालेले खल्तीबाट निकालेर उम्मेदवार चयन गर्दैन : खगराज अधिकारी

एमाले स्थायी कमिटि सदस्य खगराज अधिकारी नेपाल सरकारका पूर्व गृह एवं स्वास्थ्य तथा जनसख्यामन्त्री हुनुहुन्छ। पार्टी अध्यक्ष केपी ओली निकट मानिनुहुने नेता अधिकारी स्वाभावले खरो नेताका रुपमा समेत परिचित हुनुहुन्छ । केही दिनका लागि पार्टीको प्रवास संगठनको अधिवेशनका लागि जापान आइपुग्नु भएको अवसर पारेर समसामायिक विषयमा अधिकारीसंग नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले गर्नुभएको कुराकानी संक्षेप-

० नेपालमा निर्वाचनको माहौलका बीच जापान आइपुग्नु भएको छ। पार्टीले चुनावमा राप्रपा लगायतका पार्टीसंग तालमेल गर्ने तयारी गर्दै गरेको सुनिएको छ। कसरी तालमेल गर्दै हुनुहुन्छ ?

हेर्नुस् कुनै पनि निर्वाचन जित्नलाई हुन्छ । प्रतिस्पर्धामा जिताउने र हराउने रणनीति हुने भएकाले कुन तहमा कसरी जित्ने भन्ने आधारका लागि छलफल भएको हो। यतिवेला एमाले र गठवन्धन दुई पार्टी मात्र प्रतिस्पर्धामा छन् ।

पाँचवटा पार्टीसंग एमाले एक्लैले प्रतिस्पर्धा गर्दैछ। एमाले सिद्धान्त बोकेको पार्टी हो गठवन्धनको कुनै सिद्धान्त छैन। यतिवेला सवैले थाहा पाउदै हुनुहुन्छ । गठवन्धनबाट सिफारिस भएका उम्मेदवारहरुको स्तर अनि मापदण्ड हेर्नुहोस् त्यहाँबाट थाहा हुन्छ नि। त्यस्ता उम्मेदवारलाई जनताले जिताए देश कता पुग्छ । जनताले यो कुरा राम्ररी बुझ्नु भएको छ।

जनताको मन जित्ने उम्मेदवार अनि १६५ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने रणनीतिको गृहकार्यमा छौ। निर्वाचनका लागि हरेक व्यक्ति अनि पार्टीसंग स्थानिय तहमा आवश्यकता अनुसार तालमेल गर्नेछौ।

० एमालेले फेरिपनि बहुमत पाउछ भनेर प्रचार गर्दै हुनुहुन्छ नि। कसरी आउला त बहुमत ?

खासमा भन्नुपर्दा एमालेले अहिलेसम्म पूर्ण बहुमत पाएको छैन । अघिल्लो पटक पनि माओवादीसंगको तालमेलका कारण दुईतिहाई पुगेका थियौं । अहिलेसम्म ठूलो पार्टी मात्र भए पनि हामीले गरेको काम अनि अध्यक्ष केपी ओलीको भिजन अनुसार नेपालको समग्र बिकास अनि समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थक बनाउन एमाललेले बहुमत ल्याउनै पर्छ ।

अहिलेका गठवन्धनका नेता अनि पार्टीको योजना जनताले थाहा पाएकै छन् । सरकारमा बसेका मन्त्रीको कामकारवाही हेर्नुस् । माओवादी अवसरवादी पार्टी हो उसले अहिले गरेको अर्थमन्त्रालयको टेपप्रकरण हेर्नुभए पुग्छ । काँग्रेसको परराष्ट्रनीति हेर्नुस् । राष्ट्रियस्वाधिनताको मुद्यामा दिएको अभिव्यक्ति अनि विदेशीहरुसंगको काम कारवाही हेर्नुस् त ।

एमालेले यस्ता विकास बिरोधी अनि जनतालाई दुखदिने परिपाटीलाई अन्त्य गर्न एमाले बाहेक कुनै पनि पार्टीले भिजन नबोकेकाले जनतालाई फेरी एकपटक एमालेलाई बहुमत नै दिएर जिताउन आव्हान गर्दैछौं ।

फेरी एमालेले जितेमा नेपालमा पानी जहाजका योजना, रेलका योजना सहित बिकासका सयौ योजनाहरुलाई कार्यान्वयन तहमा पुर्याएर काम गरेर देखाउछौ। जनतामा विकास के हो र कसरी हुन्छ त्यो देखाउँछौ ।

० पार्टीको आन्तरिक बैठकमा जम्मा १५ सिट मात्र जित्ने आधार प्रस्तुत भएको तथ्याँक आयो । गठवन्धनलाई हराउन हिन्दु राष्ट्र अनि संघियता खारेजी लगायतका मुद्दा उठाउदै हुनुहुन्छ भनेर केपी ओली निकट मानिने नेता गोकुल वास्कोटा लगायतका नेताले बोल्नु थाल्नुभएको छ नि ?

आन्तरिक बैठकमा नेताहरुले बोल्ने सामान्य भाषामा भनिएको मन्तव्यलाई आधार मानेर तोडमोड गरि गलत समाचार संप्रेसण गरियो, यसका कुनै आधार छैन। आधारका हिसावले हेर्दा हामी बहुमत नजिक पुग्छौ। अनि गोकुलजी वा अरु कसैले दिएको अभिव्यक्ति पार्टीको आधिकारीक धारणा होईन र पार्टीले यस्ता विषयमा कुनै पनि छलफल समेत गरेको छैन। जनताले लामोे संघर्षबाट पाएको उपलब्धि अनि नयाँ संविधानको रक्षाका लागि दृढ रहेर एमालेले काम गर्छ यसमा ढुक्क हुनुस् ।

० स्थानीय तहबाट सिफारिस गरेको जस्तो मात्र गरेर पछि गोजीबाट उम्मेदवार बनाउनुुहुन्छ, एमालेमा स्थानीय तहबाट सिफारिस भएका नेता नै छनौट हुन्छन भनेर कसरी पत्याउने, कस्ता मान्छेलाई प्रदेश र संघीय सांसदको उम्मेदवार छान्दै हुनुहुन्छ ? एमालेमा राम्रा उम्मेदवार छन् ?

मुलुकभरिबाट सिफारिस भएका व्यक्ति नै खासमा उम्मेदवार बनाउने पार्टी नै एमाले हो। पार्टीको वडा, गाउँ, जिल्ला अनि प्रदेश तहबाट सिफारिस भएका व्यक्ति मात्र यसपटक उम्मेदवार बन्न पाउनुहुन्छ। जसको जनआधार राम्रो हुन्छ स्थानिय तहमा राम्रो भिजेको र भिजन बोकेको व्यक्ति नै पार्टीको आधिकारिक उम्मेदवार हुन्छ।

ईच्छुक धेरै होलान तर तल्लोतहबाट सिफारिस भएर आएकोलाई पहिलो प्राथमिकता हुन्छ । समानुपातिक नामावली जिल्लाबाट सिफारिस हुन्छ भने अन्यको नाम सचिवालयले तय गर्छ। यसमा तलमाथि हुदैन। अब राम्रा नेता छन भन्ने कुरामा स्थानीय तहबाट सिफारिस भएको व्यक्ति पनि नराम्रो हुन्छ र ?जसले सिफारिस गर्नुहुन्छ त्यसको जनाधार समेत जानकारी गराउने भएकाले राम्रा हुन्छन अनि जनताको मन जित्छन।

० प्रसंग मोडौ, निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराले संसदीय समितिमा दिएको बयानले त तपाईहरुलाई फाइदा पुग्ने देखियो । तर, पनि तपाईहरु मौन हुनुहुन्छ नि ? परमादेशबाट बनेको भनिएको सरकारको एमालेले कुनै पनि प्रतिवाद अनि प्रतिरोध किन नगरेको ?

प्रधानन्यायाधिस चोलेन्द्रमाथि लगाइएको महाअभियोगको औचित्य समाप्त भइसक्यो । उनीहरुको पार्टी र सरकार नै धरापमा पर्ने भएकाले गठबन्धनले महाअभियोग लगाएर तर्साउन खोजेको हो । पहिले पनि पूर्व प्रधानन्यायाधिस शुशिला कार्की माथि अभियोग लगाए तर पुष्टि हुन सकेन फिर्ता गरियो। अहिले गठबन्धनले गरेको मनपरी जनताले राम्ररी बुझेका छन् यसको जवाफ निर्वाचन मार्फत जनताले दिनेमा हामी विश्वस्त छौ ।

विश्वमा कहीं पनि नभएको परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकारले अहिले हरेक संवैधानिक निकायलाई निष्कृय बनाएर निर्वाचनसम्म धाँधली गर्न प्रयासरत छन् । निर्वाचन सकिएको समयसम्म पनि अहिलेको सांसदलाई विघठन नगर्ने नालायक र गलत योजनाको हामी भण्डाफोर गर्छौ।

हामीले सशक्त रुपमा प्रतिरोध गर्दै आएका छौ जनतालाई त्यो राम्ररी थाहा छ । यसका रहस्यहरु विस्तारै खुल्दै जान्छन् । हामी चोलेन्द्र शमशेरले दिएको बयानबाट फाइदा पुगेको नपुगेको भनेर नारा बनाउदैनौं जनता आफैंले थाहा पाउनु हुनेछ यसपछि हामीले जनताको अभिमत पाउनेमा विश्वस्त छौ।

० काँग्रेससंग सिट बाडफाँटमा असन्तुष्ट रहेको गठबन्धनका माओवादी र नेकपा समाजवादीले फरक फरक रुपमा एमालेसंग फेरि तालमेल गर्ने अभिव्यक्ति दिंदैछन । तालमेल गर्न आए स्वीकार्नु हुन्छ त ?

यति कुरामा प्रष्ट हुनुहोस् एमाले यस्ता व्यक्ति, पार्टी र प्रवृतिको विरोधमा छ । उनीहरुलाई जतिवेला चाहियो त्यतिबेला प्रयोग गर्ने ठाँउ हैन एमाले पार्टी । एमाले खेल खेल्ने थलो पनि होइन । चाहिंदा भाँडो नचाहिँदा ठाँडो होइन। उनीहरुले एमालेको नाम देखाएर काँग्रेससंग सिट दावी गरेका मात्र हुन् ।

उनीहरुको जन आधार थाहा पाएर पनि काँग्रेसले समाजवादी र माओवादीलाई साईजमा राख्न खोज्दैछ । एमालेले यस्तालाई कसरी र के गर्नुपर्छ तय भैसकेको छ। नीति, विचार, सिद्धान्त बोकेको पार्टीलाई कसैले खल्तीभित्र राखेको पार्टी सोच्छ भने त्यो संभव छैन ।

० सवैभन्दा पीडित त माधवकुमार नेपाल र समाजवादी पार्टी भनेर समाचारमा आएको सुनिन्छ । काँग्रेसले सिट बाँडफाँडमा मनपरि गर्यो भने एमालेसंग पनि तालमेल गर्ने भनेर भनेको सुनियो । समाजवादीसंग तालमेल त होला नि त ?

मैले अघि पनि भने यस्ता व्यक्ति र प्रवृतिको एमालेले विरोध गर्छ। यति ठूलो पार्टीको जन आधार यतिवेला उहाँहरुलाई महसुुस भएको होला । तर हाम्रा विरुद्धका पुराना गतिविधिहरुलाई सजिलै कसरी भुल्न सकिएला र पार्टी नेतृत्वले पनि यसलाई गम्भीरतापूर्वक लिएको छ। खासमा कुनै व्यक्तिको विरुद्धमा हामी छैनौ तर तत्कालीन समयमा एमाले पार्टी र सरकारले लिएको राष्ट्रवादी कदममा हामीलाई कमजोर बनाउन अहम भूमिका खेलेको विषयमा प्रायश्चित गरेको खण्डमा पार्टीले उचित निणर्य लिनेछ, स्वीकार्न सकिन्छ। पार्टीले जनताको हितमा गरेको काम र विकासका योजनामा साथ र सहयोग गर्न चाहन्छ भने जो कोहीलाई ढोका खुल्ला पनि राखेका छौ।

० माओवादी र समाजवादी लगायतलाई पहिलेको जस्तै मिलाएर लान विदेशी तथा छिमेकी चीनियाँ दवाव आएको भनिन्छ यसमा कत्तिको सत्यता छ ? अघिल्लो पल्ट यसरी नै गठबन्धन भएको थियो नि हैन ?

हैन यसमा कुनै सत्यता छैन। चीनको कारण हामी फुटेको पनि होइन जुटेको पनि होइन । यसमा अरुलाई जोडन आवश्यक छैन। हामी कोही चीनका भारतका वा कुनै पनि देशी विदेशी शक्तिका मतियार होलान हामी चै कसैको होइनौ । हामी देशका तमाम जनता, मजदुर, किसान, महिला, आदिवासी जनजाति, देशभक्त र विकास रुचाउने जनताका सेवक हौ।

काम गर्न रुचाउने, देश समृद्ध भएको हेर्न रुचाउने जनताको पार्टी भएकाले यसमा कसैको नाम जोडन आवश्यक छैन । हामी कसैसंग नाम जोडेर हिडन पनि चाहदैनौ। चिनियाँ कुनैपनि शक्तिले आन्तरिक रुपमा हस्तक्षेप गरेको हामीले पाएका छैनौ।

० एमसीसी र एसपीपी लगायतका अमेरिकी परियोजनामा नेपालमा अमेरिकाको प्रवेशपछि चीनले योजनावद्ध रुपमा नेपालमा आफनो प्रभुत्व बढाएको छ । एमाले चीन निकट पार्टी हो भनेर चर्चा चलाईन्छ तर तपाईहरु अमेरिका कै सहयोग बनेर निस्कनु भयो नि ?

हाम्रो परराष्ट्र नीतिमा कुनै पनि मुलुकसंग नजिक टाढा छैनौ । एमसीसी पास गर्ने बेलामा हामी संसदमा मौन बसेको समय पारेर गठबन्धनले जवरजस्ती गरे । संसद बाहिर ढुगांमुडा गरेजस्तो गरेर व्याख्यात्मक टिप्पणी सहित भनेर कार्यकर्ताहरुलाई जनतालाई झुक्याए । एमालेले सुरूदेखि नै एमसीसीको विषयमा जनतालाई बुझएर संसदमा छलफल गरेर राष्ट्रिय सहमतिका साथ पास गर्ने भनेका थियौ । जनताले हाम्रो भूमिका पनि प्रष्टसंगले बुझनु भएकाले यसमा एमालेलाई जनताको साथ र विश्वास छ भन्ने ठानेका छौ।

० अन्त्यमा नेपालको विकास निमार्णमा र बढदो युवा पलायन रोक्ने नाममा तपाईहरुले गर्नुहुने विदेश भ्रमण पश्चात नेपालमा यसरी उसरी काम गछौ भने पनि कार्यान्वयन तहमा पुग्ने बेलामा विर्सनु हुन्छ । जापान आएर फर्किएपछि यहाँ सिकेका र देखेका कुरा किन कार्यान्वयन गर्नुहुन्न ?

तपाईले मलाई यो प्रश्न गर्न सुहाउँदैन है। तपाईले मैले स्वास्थ्य मन्त्री हुँदा र केपी ओली नेतृत्वको सरकारले सरकार संचालन गर्दा गरेको विकासका काम कारवाही हेर्नुहोला । राष्ट्रिय स्वास्थ्य बीमा, देशैभरि २३०७ वडा स्वास्थ्य केन्द्र तथा सयौं हजारौं साना ठूला योजनाहरु मेरो पालामा र एमाले पार्टी सरकारमा हुँदा काम गरेका छौ। जनताले महसुस गर्नेगरि विकासका परियोजना, महत्वपूर्ण योजनाहरु अघि बढाएका छौ । जनताहरुलाई यस बारेमा धेरै कुराहरु थाहा नै छ।

यस कारण हामीले यसपटकको निर्वाचनमा बहुमत पाउछौ भनेर फेरी पनि आधार देखाउन चाहन्छु। मैले विदेशमा आउँदा जाँदा यस्तो उस्तो भनेर गरेको छैन । नेपालमा देखेको र आवश्यक परियोजनाका लागि सकेको काम गर्ने छौ भन्नेमा मेरो तर्फबाट र एमाले पार्टीका तर्फबाट जनतामा आश्वास्त पार्न चाहन्छु।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.