अक्सफोर्डले बनाएको कोरोना बिरुद्धको खोपबाट एकजना बिरामी, परीक्षण स्थगित
विश्वका विभिन्न मुलुकहरुसंग साझेदारी गरी कोरोना भाइरस बिरुद्धको खोप बनाएर परीक्षण गरिरहेको अक्सफोर्ड विश्वविद्यालयमा खोपकै कारण एकजना बिरामी भएपछि तत्काललाई परीक्षण स्थगित गरेको छ । विश्वमा सबैभन्दा बढी भरोसा गरिएको अक्सफोर्डको खोपबाट मानिस बिरामी भएपछि यसप्रति आश गरिरहेकाहरुमा ठूलो धक्का लागेको छ ।
समाचार अनुसार विश्वका १० मुलुकमा परीक्षण भैरहेको र सबैको ध्यान अक्सफोर्ड विश्वविद्यालयको परीक्षणमा रहेको थियो । विश्वविद्यालयले तेस्रो चरणको ट्रायल गरिरहेको थियो र अक्सफोर्डकै भ्याक्सिन बजारमा सबैभन्दा पहिलो आइपुग्ने अपेक्षा गरिएको थियो ।
हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सबैभन्दा अगाडि छ । कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार जना सामेल भएको बताइन्छ ।
बीबीसीका मेडिकल एडिटर फर्गस वाल्शका अनुसार अक्सफोर्डले विश्वभर हुँदै आएको ट्रायल रोकिदिएको छ र अब एक स्वतन्त्र जाँच हुने छ । सुरक्षा मानकको पनि समीक्षा गरिने छ । त्यसपछि नियामक निकायले ट्रायल फेरि सुरु गर्ने कि नगर्ने भन्ने निर्क्यौल गर्ने छ ।
अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायललाई रोक्नुपरेको यो दोस्रो पटक हो । धेरै संख्यामा परीक्षण गर्दा यस्तो हुनुलाई विशेषज्ञहरुले सामान्य ठान्दछन् । यदि कोही व्यक्ति बिरामी हुन्छ र अस्पतालमा भर्ना गर्दा पनि ऊ बिरामी हुनुको कारण पत्ता लाग्दैन भने ट्रायललाई रोकिन्छ ।