राजनीति

चिसिएको नेपाल–भारत सम्बन्ध ‘उच्चस्तरीय वार्तामार्फत सुधार्नुपर्छ

चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन् । उनीहरूले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

“मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।” उहाँका अनुसार नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्तासम्पन्न मुलुकका रूपमा हुनसकेको छैन ।

“इतिहासदेखि लादिएका सीमाको समस्या छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, दुवै देशको आवश्यक चासोलाई मिलेर समाधान गर्नुपर्छ”, नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “सन् १९५० को सन्धिले दुई देशको सम्बन्धलाई परिभाषित गर्न खोजे पनि सार्वभौमसत्तासम्पन्न देशबीच असमान र कुण्ठित खालको छ, त्यो सन्धिलाई खारेज गरी नयाँ तरिकाले अघि बढनुपर्छ ।” उहाँले नेपाललाई हेर्ने भारतको दृष्टिकोण, नीति र निर्णयमा समस्या रहेको स्पष्ट पार्नुभयो ।

नेपाल–भारत सिमानामा रहेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले पटक–पटक भारतसँग वार्ताको प्रस्ताव राखिसकेको छ । नेपालले दुई देशबीचको समस्या समाधानका लागि पटक–पटक कूटनीतिक नोटसमेत भारतलाई पठाइसकेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले नेपाल–भारत सम्बन्धमा अतिक्रमित भूभाग कसरी फिर्ता गर्ने भन्ने विषय मुख्य भएको बताउनुभयो । उहाँले चीनको उपस्थिति नेपालमा हुनुलाई भारतले अन्यथा लिन नहुने भन्दै दुवै छिमेकी मुलुकप्रति नेपालको उत्तिकै सम्मान रहेको बताउनुभयो ।

राप्रपाका नेता तथा पूर्वपराराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “नेपालको सरकार र राज्य बलियो हुनुपर्छ, नेपालले भारत र चीनसँगको सम्बन्धमा दुवैलाई विश्वास दिलाएर लैजान सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

भारतका लागि नेपाल सबैभन्दा ठूलो बजार भएकाले उसले नेपाललाई सुविधा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालको कमजोरीलाई लिएर भारतले खेल्ने काम गर्नुहुँदैन, अवरोधहरू हटाउनुपर्छ । नेपालले आफ्नो भूमि गुम्न नदिने तरिकाले अडान बलियो बनाएर जानुपर्छ, सरकारका साथै नेपालीमा बलियो एकता हुनुपर्छ ।”

“नेपाल आन्तरिक रूपमा बलियो हुन जरुरी छ, भारतलाई देशमा प्रयोग गर्ने कुनै पनि ठाउँ दिन हँुदैन, उसले प्रशासन र गुप्तचर खटाउने काम गरेको छ”, पूर्वसचिव सूर्यनाथ उपाध्यायले भन्नुभयो, “नेपाल आन्तरिकरूपमा बलियो हुनुपर्छ र भारतलाई नेपालको कुनै पनि विषयमा हस्तक्षेप गर्नबाट रोक्नुपर्छ ।”

अर्थविद् डा गोविन्दबहादुर थापाले भन्नुभयो, भारतले स्वार्थ राखेर नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग ग¥यो । नून, तेल, ग्यास, खाद्य सामग्री भारत र तेस्रो मुलुकबाट पनि भारत हुँदै आउँछ । स्थायी किसिमको सम्बन्ध राख्न भारतसँग हामीले प्रयास गरेकै छैन ।” उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा भारतीय मिडियामा वास्तविकता नबुझीकन प्रसार भएकाले समस्या पैदा भएको जनाउँदै त्यसको स्थायी समाधान खोज्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.