राजनीति

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

दुबै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्ने सोचमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणिकरण नभए राजीनामा दिनुपर्ने सत्ता गठबन्धनका नेताले बताउन थालेका छन् ।

सत्ता गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउँदै प्रमाणिकरण नगरे उहाँले राजीनामा दिनुपर्ने र यो विषय अदालतमा जाने बतानुभएको छ ।

शुक्रबार प्रेस सेन्टर समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘संविधानतः अब दोस्रो पटक विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी सुखै छैन, प्रमाणीकरण नभएमा कि त अदालत जान्छ कि त राष्ट्रपतिको राजीनामा हुन्छ । यसपछि राजनीतिले नयाँ मोड लिन सक्छ,’ ।

अध्यक्ष प्रचण्डले केही समय अगाडि राष्ट्रपतिसँग भेट गर्दा विधेयकलाई ठूलै राजनीतिक एजेन्डामा लैजान खोजेको महसुस भएको पनि बताउनुभयो ।

उहाँले थप भन्नुभयो, ‘त्यही विधेयक हो, केपी ओली सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपति क्षणभरमै प्रमाणीकरण गर्नुभयो, अहिले अदालतले सांसदबाट लिएर आउँ भनेर संसद् प्रक्रिया मिलाई पास गरेको विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिप्रति नै शङ्का गर्नुपर्ने ठाउँ छ ।’

जन्मसिद्ध नागरिकताका आधारमा नेपाली नागरिकको लागि नागरिकताबाट वञ्चित गर्नु हुन्न भन्ने मान्यताले तत्कालका लागि करिब सात लाख नेपालीलाई नागरिकता दिन यो विधेयक ल्याइएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले विदेशीसँगको वैवाहिक नागरिकताको सम्बन्धमा राज्य व्यवस्था समितिले ७ वर्षको प्रावधान राखेको छ, योचाहिँ पछि नै संसद्ले निर्णय गर्ने पनि बताउनुभयो ।

यसअघि राष्ट्रपति भण्डारीका सल्लाहकार डा. लालबाबु यादवले नागरिकता विधेयक संविधानसम्मत नभएकाले पारित हुन संविधान संशोधन हुनुपर्ने बताउँदै राष्ट्रपतिबाट प्रमाणिकरण नहुने स्पष्ट पार्नुभएको छ ।

संचारमाध्यमसंगको कुराकानीमा डा. यादवले राष्ट्रपतिबाट कुनै हालतमा विधेयक प्रमाणिकरण नहुने र राजीनामाा पनि नदिने स्पष्ट पार्दै बरु महाभियोगको सामना गर्ने समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.