जन सरोकारस्वास्थ्य

डेंगुको ज्वरो घटनासाथ बिसेक भएको भ्रममा नपर्नु

मुटु र उच्च रक्तचापका औषधि खाइरहेकाहरुले उच्च शतर्कता अपनाउनुपर्ने

मुलुकमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको महामारी नै फैलिएको छ । यसबिरुद्ध औषधि वा खोप नभएका कारण डेंगु भएपछि चिकित्सकीय निगरानी वा परामर्शमा उपचार गर्नुपर्छ ।

हाल विगतमा कोरोना सक्रमणले घरघरमा सताए जस्तै डेंगीको लहर उत्कर्षतिर भए पनि कोभिडको समयमा संक्रमण पुष्टि भएकाहरू घरघरमा बसेका र स्वास्थ्यमा जटिलताका संकेतहरू देखिएपछि अस्पताल गए जस्तै डेंगुमा पनि केही संकेत छन् ।

घरमै आराम गरेर डेंगु निको पार्नेको संख्या अत्यधिक भए पनि विचार गर्नुपर्ने महत्वपूर्ण कुरा भने ज्वरो निको हुँदैमा डेंगु संक्रमणबाट मुक्त भएँ भन्ने सोच राख्नु हुँदैन ।

बिर्सन नहुने कुरा के छ भने धेरै संक्रमितहरूले ज्वरो घट्नासाथ डेंगुको प्रभाव सकिएको हुनसक्ने अनुमान गर्ने गरेका पाइन्छ । तर वास्तवमा, ज्वरो घटेपछि कतिपयमा भने जटिल अवस्था वा क्रिटिकल फेज सुरू हुने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार यस्तो अवस्था सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ । यो समयमा पेट वा फोक्सोमा पानी जम्न सक्ने सम्भावना रहन्छ। यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ।

ख्याल गर्नुपर्ने कुरा के छ भने डेंगु संक्रमित भएकामा तारन्तार बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, अत्यधिक आलस्य र बेचैनी हुनु जटिलताका संकेत हुन् । यस्तो अवस्थामा तुरून्त अस्पताल जानु पर्दछ ।

यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्नेछ र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्छ। समयमा उपचार नपाए संक्रमितको मृत्यु समेत हुनसक्छ।

डेंगु संक्रमणमा मुख्यतय दुखाइ नै अत्यधिक हुने गर्दछ । तसर्थ, दुखाइबाट मुक्ति पाउन आफैं औषधी पसलमा जाने र औषधी खाने प्रचलन नेपालमा पुरानै हो । फ्लेक्सन, ब्रुफेन, निम्स जस्ता औषधीहरू दुखाइ तथा ज्वरो कम गर्न सबैभन्दा बढी प्रयोग गरिने औषधी हुन् । तर, डेंगुमा यी औषधि प्रयोग गर्न हुँदैन ।

त्यस्तै उच्च रक्तचाप तथा मुटुका रोगीहरुमा डेंगु संक्रमण भए पनि अरुको तुलनामा उच्च सावधानी अपनाउनुपर्ने डा. ओम मूर्ति बताउनुहुन्छ । उहाँले सामाजिक सञ्जालबाट उक सन्देश जारी गर्दै डेंगु लागेपछि रक्तचाप कम हुने भएकाले औषधि खाइरहेका बिरामीहरुले बेलाबेलामा रक्तचाप नाप्ने र कम भए चिकित्सकको सल्लाह अनुसार औषधि रोक्नुपर्ने सुझाव दिनुभएको छ ।

डेंगुले रगतको प्लेटलेट घटाउने भएकाले रगत पातालो बनाउने औषधि खाइरहेका व्यक्तिहरुले आफ्नो प्लेटलेट जाँचेर औषधिको मात्राका विषयमा चिकित्सकसंग परामर्श लिन सुझाव दिनुभएको छ । यदि प्लेटलेट कम हुँदै गयो भने आन्तरिक रक्तश्राव हुने जोखिम बढ्छ ।

तसर्थ उच्च रक्तचाप, मुटुका बिरामीहरुले डेंगु भएमा घरमै बसेर उपचार गर्नुभन्दा पनि ज्वरो आउनासाथ चिकित्सकको सम्पर्कमा जानुपर्ने डा. मूर्तीको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.