विश्व समाचार

बेलायतको राजगद्दी वेल्सका राजकुमार चार्ल्सलाई हस्तान्तरण

महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि तत्कालै कुनै समारोह आयोजना नगरी उहाँका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरिएको छ ।

आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ । उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ ।

उक्त निकायमा भूतपूर्व तथा वर्तमान वरिष्ठ सांसदहरूको समूह र माथिल्लो सभाका सदस्य रहने प्रिभि काउन्सिलका सदस्यहरू तथा केही वरिष्ठ निजामती कर्मचारीहरू, राष्ट्रमण्डल सदस्य देशका उच्चायुक्तहरू अनि लन्डनका लर्ड मेयर रहन्छन् ।

चार्ल्सलाई राजा घोषणा गरिएको भए पनि औपचारिक रुपमा गर्नुपर्ने धेरै बिधि र चरणहरु भने बाँकी नै छन् । यसमध्ये अब चार्ल्सलाई कसरी सम्बोधन गर्ने भन्ने हुनेछ ।

राजा चार्ल्स तृतीयको रूपमा शासन गर्ने वा अर्को नाम ग्रहण गर्ने भन्ने निर्णय गर्नु उहाँको पहिलो काम हुनेछ । जस्तै, उहाँका हजुरबुवा जोर्ज छैटौँको पहिलो नाम अल्बर्ट थियो, तर उहाँले आफ्नो बीचको नाम प्रयोग गरेर शासन गर्नुभयो । चार्ल्सले आफ्नो चारवटा नामहरू चार्ल्स फिलिप आर्थर जोर्जमध्ये कुनै एक रोज्न सक्नुहुनेछ ।

यसपछि बेलायतको राजगद्दीको नयाँ उत्तराधिकारीका रुपमा चार्ल्सलाई औपचारिक रूपमा राजमुकुट पहिराइने छ । तयारीका लागि समय लाग्ने भएकाले उक्त कार्यक्रम केही समयपछि हुने बताइन्छ । महारानी एलिजाबेथ सन् १९५२ को फेब्रुअरीमा गद्दीमा बसेको भए पनि सन् १९५३ को जुनसम्म पनि त्यस्तो समारोह भएको थिएन ।

विगत ९०० वर्षदेखि त्यस्तो समरोह वेस्टमिन्स्टर एबीमा आयोजना गरिँदै आएको छ । विलियम द कन्करर त्यस्तो समारोह गर्ने पहिलो राजा हुनुहुन्थ्यो र चार्ल्स ४० औँ राजा हुनुहुनेछ ।

यो एङ्ग्लिकन चर्चको धार्मिक समारोह हो जसलाई क्यान्टरबरीका आर्चबिशपले सञ्चालन गर्नेछन्। समारोहको बीचमा धार्मिक गुरुले सेन्ट एड्वर्डको सन् १६६१ देखिको सुनौलो मुकुट चार्ल्सको शिरमा पहिराउनेछन् ।

यो टावर अफ लन्डनस्थित क्राउन जूअल्समा भएको मुख्य आकर्षणको वस्तु हो। यसलाई राजाले औपचारिक रूपमा राज्यारोहण गर्दाखेरि मात्र लगाउँछन् (यसको तौल २.२३ किलोग्राम हुन्छ)।

राज्यारोहणको औपचारिक समारोह शाही विवाहजस्तो नभई सम्पूर्ण राज्यको उत्सव हो । यसको खर्च सरकारले बेहोर्छ र निम्तालुहरूको सूची पनि सरकारले नै निर्धारण गर्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.