राजनीति

चुनावअघि माओवादी र समाजवादीको कार्यगत एकता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन अघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले आफू सधैँ वाम गठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गर्नुभयो ।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताउनुभयो ।

सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.