कला/मनोरन्जनकलिउड

नायक पल शाह र गायक थापाद्वारा ढोरपाटनका बाढी पीडितलाई सहयोग

अभिनेता पल शाह र गायक दुर्गेश थापा लगायतको टोलीले ढोरपाटनका बाढी प्रभावित परिवारका लागि राहत प्रदान गरेको छ । पल शाह फाउण्डेशन र ‘हाम्रो टिम नेपाल’को तर्फबाट नगद रु ५० हजारसहित खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामग्री प्रदान गरिएको हो ।

राहत सामग्रीमा ३० बोरा चामल, ३० जोर सिरक÷डसना, नुन, तेल, कापी, कलमलगायत छन् । अभिनेता शाह र गायक थापाले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई राहत हस्तान्तरण गर्नुभएको थियो । “बाढी प्रभावितलाई मानवीय सहायता पुर्याउने उद्देश्यले काठमाडौँदेखि यहाँ आयौँ”, अभिनेता शाहले भन्नुभयो, “अरुको दुःखमा साथ दिनु हामी कलाकारको पनि दायित्व हो ।”

आफ्नै गृहजिल्लामा बाढीले ठूलो जनधनको क्षति प¥याएको थाहा पाउनसाथ राहत लिएर जाने योजना बनेको गायक थापाले बताउनुभयो । काठमाडौँबाट तीन दिन लगाएर ढोरपाटन पुगिएको उहाँको भनाइ छ । नगरप्रमुख नेपालीले राहत सामग्री यथाशीघ्र बाढी प्रभावित परिवारसम्म पुग्ने गरी प्रबन्ध मिलाइने बताउनुभयो । नगरपालिकामा सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गरिने भएको छ । बाढीग्रस्त क्षेत्रमा पुग्ने सडक भत्केका कारण पनि तत्काल राहत पुर्याउन कठिनाइ भइरहेको छ ।

अभिनेता शाहले यसअघि कालिकोटलगायतका ठाउँमा पुगी पहिरो प्रभावित परिवारलाई राहत वितरण गर्नुभएको थियो । ‘हाम्रो टिम नेपाल’सँग मिलेर उहाँले काठमाडौँमा गरिब, मजदुर र असहायलाई भोजन पनि गराउँदै आउनुभएको छ । सामाजिक सेवाको उद्देश्यले ‘पल शाह फाउण्डेशन’ खोलेको उहाँको भनाइ छ । अभिनेता शाहले कोरोनाका कारण आम्दानी गुमाएका चलचित्र प्राविधिकहरुका लागि हालै रु पाँच लाख सहयोग गर्नुभएको थियो ।

अभिनेता शाह र गायक थापाले बाढीमा परी ज्यान गुमाएका गलकोट नगरपालिका–४ का नवीन भण्डारीको परिवारलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ । बाढीमा बेपत्ता भण्डारीको शव एकसातापछि बुधबार बडिगाड खोलामा भेटिएको थियो ।

यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–७, ८ र ९ मा क्षति पु¥याएको छ । बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ भने १६ अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ । बाढी प्रभावित परिवारको राहत एवं पुनःस्थापनाका लागि देशविदेशमा सहायता अभियान थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.