कर्पोरेट/पर्यटन

बर्दियाको छायाँमा बाँके- सधैं पर्यटकको पर्खाईमा

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटनकका लागि अपार आकर्षणको केन्द्र भए पनि संगैको बर्दिया राष्ट्रिय निकुञ्जको छायाँमा परेको छ । बर्दियामा पर्यटक बढिरहँदा बाँके भने पर्यटकको पर्खाइमा रहेको छ ।

विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ । निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउनुहुन्छ ।

निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ । “कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७७/७८ सम्म आठ सय ९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये आठ सय ६५ आन्तरिक पर्यटक रहेका छन् । बीस जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका रहेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल उक्त सङ्ख्या बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ ।

सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.