जन सरोकार

अघिल्लो आवभन्दा गत आवमा घट्यो आत्महत्या

नेपालमा आत्महत्या गर्नेको सख्या घटेको पाइएको छ । विश्व आत्महत्या दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको जानकारी दिइएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले अघिल्लो आव २०७७÷७८ को तुलनामा गत आवमा २०७८÷७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको सङख्या ४.३५ प्रतिशतले घटेको बताउनुभयो ।

उहाँले सरकारले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको हुनसक्ने बताउनुभयो । सरकारले ४४ जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उहाँले उक्त कार्यक्रम आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

आत्महत्या रोकथाम तथा नियन्त्रणमा सरकार पनि गम्भीर भएर लागेर विभिन्न कार्यक्रम सञ्चालन गरेको हुनाले आत्महत्याबाट ज्यान गुमाउने सङ्ख्यामा कमी आएको बताउनुभयो । “हामीले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम तल्लो तहसम्म सञ्चालन गरेको छौँ”, उहाँले भन्नुभयो, “सोही कार्यक्रमको प्रभावले गर्दा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको हुनसक्छ ।”

उहाँका अनुसार कार्यक्रमअन्तर्गत मानसिक चिकित्सकले परामर्श तथा उपचार गर्ने, स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर टोलटोलमा आत्महत्या रोकथामका लागि जनचेतना जगाउने कार्य भइरहेको छ ।

सरकारले आत्महत्याका रोकथाका लागि ११ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आइरहेको छ । आत्महत्या आव २०७८/७९ मा छ हजार आठ सय ३० जनाको ज्यान गएको थियो । आवमा २०७७/७८मा आत्महत्याबाट सात हजार एक सय ४१ जनाको ज्यान गएको थियो ।

विगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार दुई सय ९८ जनाले आत्महत्याका कारण आफ्नो ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६९/७० मा तीन हजार नौ सय ७४ जना, २०७०/७१ मा चार हजार पाँच सय चार जना, २०७१/७२ मा चार हजार तीन सय ३२ जना, २०७२/७३ मा चार हजार छ सय ८० जनाको आत्महत्याका कारणले ज्यान गएको छ ।

यस्तै २०७३/७४ मा पाँच हजार दुई २४ जना, २०७४/७५ मा पाँच हजार तीन सय १७ जना, २०७५/७६ मा पाँच हजार सात सय ५४ जना, २०७६/७७ मा छ हजार दुई सय ७९ जनाको ज्यान गएको छ । कोभिड–१९ को महामारी, सन् २०१५ मा आएको विनाशकारी भूकम्प, शहर केन्द्रित बसाइँसराइ, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको सङ्ख्या दिन प्रतिदिन बढी रहेको नेपाल प्रहरीको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले आत्महत्याको रोकथाम जनचेतनाबाट गर्न सकिने बताउनुभयो । उहाँले आत्महत्या रोकथाम सबैको साझा सरोकारको विषय भएकाले सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने भनाइ राख्नुभयो । मानसिक रोगीलाई मायाममता दिएर राखे आत्महत्या हुनुबाट जोगाउन सकिने धारणा राख्नुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सबैको सहकार्यबाट आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा एक जना मनोपरामर्शदाता र हरेक जिल्लामा एक जना मनोचिकित्सक राख्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.