राजनीति

माधव नेपालको पार्टीले समानुपातिकमा २० लाख मत पाउने

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ ।

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको भेलालाई शनिबार सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताउनुभयो ।

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उहाँले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गर्नुभयो । उहाँले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उहाँले आग्रह गर्नुभयो ।

पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिनुभयो । उहाँले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रनुभएका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताउनुभयो । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उहाँले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाँले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्याउने प्रयास गरेको बताउनुभयो । उहाँले मदरसालाई व्यवस्थित गराइ सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.