जन सरोकार

थिमी नरसंहार : श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान

शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा प्रहरीले मृतक सुदीप अधिकारीले श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको जनाएको छ ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदीपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर ३६ वर्षीय सुदीपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदीपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा विषको जस्तो गन्ध आएको छ ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भर्याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.