प्रबास

मलेसिया गएका सर्वजित सुनार १६ वर्षदेखि सम्पर्कविहीन

विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गर्नुभएको हो ।

राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ ।”

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिने गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उहाँले बताउनुभयो । अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपत्विपद परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजीतकी भाउजु सम्झना विकले बताउनुभयो ।

सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताउनुभयो । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उहाँको भनाइ छ ।

सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताउनुभयो । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.