जन सरोकार

अरुणोदयमा पुरानाको विदाई नयाँलाई स्वागत

काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयमा एसईई तथा कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

भदौ २७ गते सोमबार विद्यालय भवनमा विद्यालय व्यवस्थापन समितिका सदस्य शिवप्रसाद पौडेलको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई खादासहित मायाको चीनो दिएर विदाई गरिएको थियो ।

समारोहमा प्रमुख अतिथिको आशनबाट गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले आफू अध्ययन गरेको र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकाले यो विद्यालयको स्तरउन्नतिका लागि नगरपालिकाबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाउनुभयो । उहाँले विद्यालय अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई भविष्यमा असल नागरिक बन्न शुभकामना दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले अरुणोदय माध्यमिक विद्यालयले प्लस टुको नतिजामा नगरपालिकामै पहिलो भएको जनाउँदै यसका लागि अथक मेहेनत गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

त्यसै गरी सहायक प्रधानाध्यापक रीता रायमाझीले विद्यार्थीहरुलाई बधाई र शुभकामना दिनुहुँदै असल नागरिक बन्न असल शिक्षाको आवश्यकता रहेको र विद्यार्थीहरुले किताब पढेर मात्र नभै अरुका कुरा सुनेर पनि धेरै ज्ञान आर्जन गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विद्यालयको शैक्षिक विकास र बालबालिकालाई शिक्षण पद्धतिमा सहभागी गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

विशेष अतिथिको आशनबाट बोल्दै गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख दण्डपाणी शर्माले अरुणोदय माध्यमिक विद्यालय एसईई र प्लस टुको परीक्षामा गोकर्णेश्वरभरिमै उत्कृष्ट रहेको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई असल नागरिक बन्न असल शिक्षा चाहिने सुझाव दिंदै अध्ययनलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाका तर्फबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै सो विद्यालयका प्लस टु संयोजक नरबहादुर गुरुङले आफूहरुको कडा मेहेनत र विद्यार्थीहरुको लगनशीलताका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको र भविष्यमा योभन्दा अब्बल परिणाम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

समारोहमा नगरप्रमुख रिसाल, शिक्षा शाखा प्रमुख शर्मा तथा शाखा अधिकृत टेकेन्द्र ढकाललाई मायाको चीनो प्रदान गरिएको थियो भने । अरुणोदय पूर्व विद्यार्थी समाजका सचिव यादब देवकोटाले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाललाई समाजका तर्फबाट विद्यालयका लागि केहीथान पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.