राजनीति

“एमसीसी अनुमोदन नभए पनि सम्बन्धमा कुनै असर पर्नेछैन” : उपाध्यक्ष फतेमा

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै यदि अनुमोदन नभए पनि दुई देशबीचको सुमधुर सम्बन्धमा कुनै असर नपर्ने बताउनुभएको छ ।

एमसीसी सम्झौताबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताउँदै फतेमाले नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको छलफल र वार्तापछि पाँच वर्षअघि अमेरिकासँग गरेको एमसिसी कम्प्याक्टलाई कार्यान्वयन गर्न नेपालका राजनीतिक दलबीच मतैक्य रहनेमा पनि आफू ढुक्क रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो “एमसिसी अनुमोदन नभए पनि हाम्रो सुमधुर सम्बन्धमा कुनै असर पर्नेछैन,” नेपालको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज पत्रकार सम्मेलन गरेर उपाध्यक्ष फतेमा सुमारले भन्नुभयो,“विगतका विकास परियोजनाले नेपालसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्न सघाएका छन् ।”

प्रतिनिधिसभाबाट एमसिसी अनुमोदनमा विलम्ब भए पनि अब राजनीतिक दलबीच शीघ्र सहमति हुनेमा आफू आशावादी रहेको बताउँदै उहाँले विभिन्न तहमा चार दिनसम्म गरेका भेटवार्ताबाट आफू त्यो निष्कर्षमा पुगेको नेपाल भ्रमणको निचोड सुनाउनुभयो ।

कोभिड–१९ को महामारीले शिथिल बनेको नेपालको अर्थतन्त्रको पुनरुत्थान तथा रोजगारीका अवसरको सृजनामा एमसिसी उपयोगी हुने बताउँदै जति चाँडो त्यो अनुमोदन हुन्छ त्यसैअनुसार परियोजना कार्यान्वयन भई सामाजिक–आर्थिक उन्नयनमा योगदान पुग्ने अभिमत उहाँले प्रकट गर्नुभयो ।

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आउनुभएकी उहाँले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायतलाई बेग्लाबेग्लै भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गर्नुभएको थियो ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत बुधबार उपाध्यक्ष सुमारले सरकारले सोधेका ११ प्रश्नको जवाफ दिँदै विद्युत् प्रसारण लाइन र सडकलगायत नेपालको विकासका अत्यावश्यक भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बकोे कम्प्याक्टका प्रावधान नेपालको संविधानभन्दा माथि नरहेका, हिन्द–प्रशान्त रणनीतिअन्तर्गत त्यसमा सैन्य अंशसमेत नरहेको स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.