राजनीति

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले भन्नुभयो- “नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ।”

त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो ।

उहाँले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिनुभयो । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गर्नुभयो ।

उहाँले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिनुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.