राजनीति

द्वन्द्वपीडित अनिता माओवादीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ ।

माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद परिवारसमेत रहनुभएका पोखरा–५ निवासी अनिता भुर्तेललाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

तत्कालीन नेकपा (माओवादी) कास्कीका जिल्ला सहइञ्चार्ज रहनुभएका अनिताका बुबा राजविक्रम र आमा सीता भुर्तेललाई विसं २०६१ वैशाख ३१ गते पोखरा–२४ पामेबाट नियन्त्रणमा लिएर मारिएको थियो ।

राजविक्रम पार्टीका जिल्ला नेता रहे पनि आमा पार्टी समर्थक र गृहेणी हुनुहुन्थ्यो । सानै उमेरमा सशस्त्र युद्धमा बुबा÷आमा गुमाएपछि अनिताले सङ्घर्ष गर्दै आफू पढ्दै र बहिनीहरु र भाइको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

बाबु/आमा शहीद हुँदाको बेला उहाँ प्रवेशिका परीक्षा दिएर बस्नुभएको थियो । त्यसपछि परिवारमा तीन बहिनी र एक भाइको सम्पूर्ण जिम्मेवारी अनिताको काँधमा आयो ।

अनिता हालै पोखरामा भएको माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । पार्टीले उम्मेदवार सिफारिस गरेर पठाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो ।

“पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नरहे पनि पार्टीले मलाई सम्झिएर उम्मेदवार सिफारिस गरेकामा खुसी छु । हेरौँ अन्तिम सिफारिसमा पर्न के गर्छु । त्यसमा परे त ठूलो कुरा भयो नि ।”

माओवादी कास्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचिनका लागि प्रत्यक्ष र समानुपातिकमा गरी ४५ जनाको नाम गण्डकी प्रदेश समितिमा सिफारिस गरेको हो ।

माओवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ ‘करण’, यशोदा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १(क) मा दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ (ख) मा पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाइसिएलका निर्वतमान संयोजक सुमन देवकोटा र गङ्गा पोखरेलको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरिएको माओवादीले जनाएको छ ।

यसैगरी प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस हुनुभएको छ भने क्षेत्र नं २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल, प्र्रतिनिधिसभा सांसद दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ । प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टेकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम पठाइएको छ ।

यसैगरी ३ (ख) बाट त्रिभुवन पौडेल, अग्नि कँडेल, दुर्गादत्त भण्डारी, हरिप्रसाद भण्डारी र गोविन्द अधिकारीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ भुर्तेलसहित सोमती गुरुङ, बखानसिंह गुरुङ, राजकुमार दुलाल र जुवेदा खातुन सिफारिस हुनुभयो ।

प्रदेशसभामा समानुपातिकतर्फ शहीद परिवार सन्तबहादुर भुजेल, अलिसा आले, जगमाया सुनार, गोमा ढकाल र विश्वेश्वर आचार्यको नाम पठाइएको माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले जानकारी दिनुभयो ।

जिल्लाबाट पठाइएका नामलाई आवश्यक रायसहित प्रदेश समितिले केन्द्रमा सिफारिस गर्नेछ । सत्ता गठबन्धनमा रहेको माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट पाउने गरी छलफल भइरहेको बताइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.