जन सरोकार

पूर्व एसएसपी श्रेष्ठ कामपाका ट्राफिक सल्लाहकारमा नियुक्त

काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसक्नुभएका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गर्नुभएको छ ।

त्यस्तै भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिनुभएको बताइएको छ ।

यस्तै उहाँले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिनुभएको छ । उत्कृष्ट कार्यसम्पादनवापत उहाँले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने पदक पाउनुभएको छ ।

यस्तै विशेष सेवा पदकबाट सम्मानित भइसक्नुभएको छ । श्रेष्ठको नियुक्तसँगै कामपाले महानगरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा थप सहयोग पुग्ने आशा गरेको छ ।

शिक्षा सल्लाहकारमा अर्याल

कामपाले शिक्षा सल्लाहकारमा रेशु अर्याललाई नियुक्त गरेको छ । उहाँलाई पनि प्रमुखस्तरीय निर्णयबाट नियुक्त गरिएको हो । अर्यालले सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एजुकेशनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँले टिच फर नेपालको पाँच वर्ष अध्यक्षका रूपमा काम गरिसक्नुभएको छ । अहिले अर्याल नेतृत्व परिषद्को सदस्य हुनुहुन्छ । सार्वजनिक र सामुदायिक विद्यालयको विकास र सवलीकरणका लागि अर्यालको योगदान रहने अपेक्षा गरिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.