जल/वातावरण

सचेत बनौं- देशभर थपिएका संक्रमितमध्ये आधा काठमाडौंमा, मृत्यु पनि उपत्यकामै बढी

मुलुकको राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या निकै उच्चदरमा बढिरहेको छ । संक्रमण दिन प्रतिदिन बढिरहेको र जनजीवन खुला भएको अवस्थामा जोखिम अरु बढेको भए पनि सामान्य सचेतता अपनाउने हो भने संक्रमित हुनबाट भने बचिन्छ ।

सोमबार साँझसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या १२ हजार नाघेको छ । उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको छ । देशभरमा ५५ हजार ३ सय २९ पुग्दा १० हजार सङ्क्रमित काठमाडौँ जिल्लाका मात्र रहेका छन ।

काठमाडौँ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन् ।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । सोमबार मात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये काठमाडौँमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन ।

निषेधाज्ञा हटेसंगै काठमाडौंको जनजीवन सामान्य बनेको छ । आर्थिक गतिविधि चलायमान छन् र व्यवसायीहरुमा खुसी छाएको छ । संगसंगै संक्रमणको जोखिम पनि बढेका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने आम नागरिकको पनि दायित्व हो ।

त्यस्तै सोमबार साँझसम्म २४ घण्टामा मृत्यु भएका १५ जनामा ८ जना काठमाडौं उपत्यकाभित्र रहेका छन् । मुलुकको आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्र काठमाडौं उपत्यकामा समुदायस्तरमै कोरोना फैलिएको आशंका भैरहेका बेला हरेक नागरिक सचेत हुनुको विकल्प छैन ।

१८ जिल्लामा एक हजारभन्दा बढी सङ्क्रमित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजारभन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रूपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.