गत आवमा सात खर्ब २० अर्बभन्दा बढीको घरजग्गा कारोबार
नेपालमा गत आर्थिक वर्षमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गा कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८१/८२ मा रु तीन खर्ब ८६ अर्ब १५ करोड बराबरको घरजग्गा कारोबार भएको थियो।
गत आवमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आवमा भने कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।
गत आवको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ। यस अवधिमा लिखत पारितअन्तर्गतको कारोबार १२.२८ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।
घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्वमा समेत वृद्धि भएको छ। गत आवमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पूँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आवमा यस्तो कर्जा वृद्धिदर ५.८६ प्रतिशत थियो।
बागमतीमा कारोबार मूल्य सबैभन्दा धेरै बढ्यो
प्रदेशगत रूपमा गत आवमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको छ। बागमती प्रदेशमा कारोबार मूल्य सबैभन्दा धेरै १७५.३३ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले वृद्धि भएको छ।
चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार ३.४४ प्रतिशतले घटेको छ।
घरजग्गा कारोबार भएको कुल क्षेत्रफल बागमती प्रदेशमा सबैभन्दा धेरै ५०.२४ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकका अनुसार गत आवमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा बढी भएको छ। अघिल्लो आवमा मधेश प्रदेशमा भने २० आनाभन्दा बढी क्षेत्रफलका प्लटको कारोबार बढी थियो।
महानगरमा काठमाडौंको कारोबार उछाल
महानगरपालिकातर्फ गत आवको चौथो त्रैमासमा घरजग्गा कारोबार संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ।
ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ।
सबै महानगरपालिकामा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल बढेको छ। काठमाडौंमा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्जमा १३.३१ प्रतिशतले वृद्धि भएको छ।
कारोबारको कुल मूल्यसमेत सबै महानगरपालिकामा बढेको छ। काठमाडौं महानगरपालिकामा कारोबार मूल्य २१७.४० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।
उपमहानगरमा पनि कारोबार बढ्यो
गत आवको चौथो त्रैमासमा कलैया उपमहानगरपालिका बाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या बढेको छ। धनगढीमा यस्तो कारोबार सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा कारोबार संख्या स्थिर रहेको छ।
घरजग्गा कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ। हेटौंडामा यस्तो क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ।
त्यसैगरी, ११ वटै उपमहानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आवको तुलनामा बढेको छ। हेटौंडामा कारोबार मूल्य सबैभन्दा धेरै १८६.८० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्