जन सरोकार

हतारमा विद्यालय खोलेर पछुताउ नपरोस्

राजधानी उपत्यका लगायत देशका अधिकांश भागमा विद्यालयहरु भौतिक उपस्थितिमै संचालन हुन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ ।

उहाँले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताउनुभयो ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उहाँले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताउनुभयो । “सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।”

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (एन-प्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।

छलफलपछि प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको बताउँदै कम विद्यार्थी भएको विद्यालयले भने माथिल्लो कक्षाका विद्यार्थी पठन पाठन गराउन सक्ने छलफल भएको जानकारी दिनुभयो ।

त्यस्तै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताउनुभएको छ ।

काठमाडौं रेड जोनमा परे पनि सबैतिर फरक अवस्था भएकाले विद्यार्थी संख्या कम भएको विद्यालयमा मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय चाहिँ विस्तारै खोल्ने तय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.