काठमाडौंमा भित्रिन र बाहिरिन खुला, पसल खुले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध
आजबाट काठमाडौंका सबै पसल खुला भएका छन् । त्यस्तै राजधानीबाट बाहिरिने र राजधानी भित्रिनेलाई कुनै रोकतोक हुनेछैन भने सवारी साधनको जोर बिजोर प्रणाली भने कायमै छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि बार तोकेर पसल खोल्न दिने गरेको निर्णय खारेज गर्दै सबै खुला गरेको हो । सबै खुला भए पनि प्रशासनले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्र्रशासनले सबैमा अनुरोध गरेको छ ।
अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज सूचना जारी गरी स्पष्ट पारेको छ । प्रशासनले खुला स्थानमा भीडभाड, सभाजुलुस गर्नगराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरेको छ ।
यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।
व्यापारव्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत मजदूरलाई ओसारपसारमा समेत रोक लगाइएको छ । दैैनिक क्रियाकलाप गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, नियमित साबुनपानीले हात धुन या सेनिटाइजरको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।
भौतिक दूरी कायम राखेर दैनिक गतिविधि सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । सो विषयमा दैनिक अनुगमन गरिने र कैफियत देखिए कानूनअनुसार कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।