जन सरोकार

कमाण्ड अवधारणालाई यथावत राख्दै, पृतनालाई अघि बढाउँदै सेना

नेपाली सेनाले कमाण्डको अवधारणालाई यथावत राख्दै साङ्गठनिक पुनःसंरचना २०७८ लागू हुनुपूर्व कायम रहेका पृतना, बाहिनी, गण र गुल्मको संरचना कायम राख्ने निर्णय गरेको छ ।

फिल्डदेखि जङ्गीअड्डासम्म सेनाको सन्तुलित उपस्थिति भई चेनअफ कमाण्डलाई मजबुद बनाउने उद्देश्यले विगतका संरचना यथावत कायम राख्न सैनिक मुख्यालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले यही भदौ २१ गते स्वीकृत गरेको छ ।

सो निर्णयलाई कार्यान्वयन गर्दा थप आर्थिक दायित्व नपर्ने र कूल दरबन्दी सङ्ख्या यथावत नै रहने नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो¬, “निकट भविष्यमा नै आठवटै पृतना पूर्ववत्रूपमा क्रियाशील भई आसन्न निर्वाचनमा सेना परिचालन हुनका लागि सहज हुने भएकाले मन्त्रिपरिषद्को निर्णयअनुरूप आवश्यक तयारी र योजना भइरहेको छ ।”

देशको प्रादेशिक तथा स्थानीय संरचनासँग सामञ्जस्यता कायम गरी निर्वाचन सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका प्राप्त जिम्मेबारीलाई प्रभावकारीरूपमा सम्पादन गर्न असहजता भएपछि सेना कमाण्डसँगै पृतना अवधारणालाई अघि बढाउने निर्णयमा पुगेको हो ।

स्वीकृत साङ्गठनिक संरचना, २०७८ लाई कार्यान्वयनमा लैजाँदा आइपरेका व्यावहारिक कठिनाइ, कानूनी तथा नीतिगत व्यवधान, कमाण्ड हेडक्वार्टरलगायत तल्लो तहबाट प्राप्त पृष्ठपोषणका आधारमा सेना उक्त निर्णयमा पुगेको छ ।

पुनःसंरचना लागू गर्दा खडा गर्नुपर्ने युनिटका लागि आवश्यक आर्थिक उल्झन बहन गर्न हालको अवस्थामा असम्भव प्राय भएको सेनाको स्पष्टोक्ति छ ।

कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ लाख पुगेको जानकारी दिइयो ।

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा रहेको छ ।

कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घीको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिनुभयो ।

सैनिक कल्याणकारी कोषको रकम विगतमा रु ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब रु पाँच करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.