राजनीति

दलहरुबीच आरोप प्रत्यारोपभन्दा समीक्षा हुनु जरुरी छ : पूर्वप्रम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

डा. बाबुराम भट्टराई

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले यो इतिहासले सुम्पिएको जिम्मेवारी हामीबाट कति पूरा भयो समीक्षा गर्ने बेला हो भन्नुभयो ।

“जनताले कसरी हेरिरहेको छ त्यो हेर्न जरुरी छ । राजनीतिक विकृतिहरुका समाचार आइरहेको अवस्थामा आफैँलाई हेर्न जरुरी छ । यही संसद्बाट निर्वाचित सरकारले संसद्लाई दुई पटक विघटन गर्न पुगे । धन्न हामीले जोगाउन सफल भयौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष भट्टराईले न्यायपालिका कति खोक्रो भएको रहेछ भन्ने अहिलेको महाअभियोग छानबिन समितिमा भइरहेको बयानका क्रममा सुनिएका कुराले थाहा हुन्छ भन्नुभयो । कतिपय काम नभएका होइन उपलब्धि भएका छन् तर जनअपेक्षाअनुसार काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

नागरिकता विधेयकका सम्बन्धमा दलीय आधारमा लम्बिनु नहुने धारणा व्यक्त गर्दै उहाँले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि वैवाहिक अङ्गीकृत नागरिकता पनि दिएकै हो । महिलालाई संवैधानिक रुपमा विभेद गर्न मिल्दैन । आफ्नो बाबुको पहिचान नखुलेको अवस्थामा स्वघोषित आमाले भन्दा नागरिता दिनुपर्छ ।”

सङ्क्रमणकालीन दुई आयोगका विषय कुनै पार्टी विशेषको नभई समग्र शान्ति प्रक्रियाको हिस्सा भएको बताउँदै उहाँले यसलाई किन लम्ब्याएर राखियो भनी प्रश्न गर्नुभयो । यसमा हजाराँै पीडित जनताले न्याय पाउनु पर्दैन भन्दै उहाँले यो विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्या हो भन्नुभयो ।

अध्यक्ष डा भट्टराईले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेर मात्र नहुने भन्दै नक्साअनुसार जमिन प्राप्त गर्न के काम भयो त्यो बारेमा सोच्न जरुरी छ भन्नुभयो ।

संविधान जारी हुँदा आफूले भनेको आधा गिलासभरि आधा खाली भनेको विषयलाई पूरा गर्न त्यसलाई पूर्णता दिन अझै कार्य गर्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

संवैधानिक आयोगलाई पनि पारदर्शी र प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले जनजीवनमाथि उकास्न कृषिमा क्रान्ति र अन्य धेरै काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.