जन सरोकार

आजदेखि मलमास सुरु- शुभ कार्य गर्न नहुने

भदौ २ गते अपरान्ह ४ः५९ बजेदेखि मलमास सुरु हुँदैछ । वैदिक परम्परा अनुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञहरुले बताएका छन् । मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ ।

यो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उहाँले बताउनुभयो । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ । भट्टराईले भन्नुभयो “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । ”

धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उहाँको भनाइ छ ।

पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.