राजनीति

प्रधान न्यायाधीश जबरा आज अदालत जाने, बार अध्यक्ष मूल ढोकामै धर्ना बस्ने

प्रतिनिधिसभाको अन्त्यसंगै महाभियोग प्रमाणित नभएको दावी र तर्कसहित निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज (असोज २)बाट सर्वोच्च अदालत फर्कने बताउनुभएको छ ।

उहाँले आफूमाथिको महाभियोग प्रमाणित नभएको भन्दै आइतबारदेखि सर्वोच्च अदालत फर्कने भन्दै पत्र पठाउनुभएपछि उहाँलाई रोक्न नेपाल बार एसोसिएशनले मूल ढोकामै धर्ना दिने चेतावनी समेत दिएको छ ।

आइतबार विहान पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधान न्यायाधीश जबराले आफूमाथि लगाइएको महाभियोग प्रमाणित नभएकाले आज ११ बजे अदालत गएर काममा फर्कने बताउनुभएको हो ।

जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाइएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।

महाभियोग सिफारिश समितिले भने शनिबार राति ढिलै गरी भए पनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।

यसबीच नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद्ले ‘क्लिन चिट्’ नदिईकन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कन नमिल्ने जिकिर गर्दै राणा चोलेन्द्रशमशेर जबर्जस्ती सर्वोच्च अदालत नआउने बताउनुभएको छ ।

घिमिरेले भन्नुभयो, उहाँसँग निलम्बन फुकुवाको पत्र छैन । संसद्को क्लिन चिट नपाईकन कुन नैतिकताले अदालत प्रवेश गर्ने ? यो हँसीमजाकको विषय होइन । महाभियोगको प्रक्रिया चलिरहेको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष घिमिरेले नेपाल बारले चोलेन्द्रशमशेरलाई सर्वोच्चको गेटमै रोक्ने चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “एक व्यक्तिको स्वार्थका लागि सिंगो न्यायालयलाई थिलथिलो बनाइयो । बारले सदैव सिस्टमका लागि लडेको छ । यो व्यक्तिविरुद्धको आन्दोलन होइन । नेपाल बारले उहाँलाई रोक्छ । पहिलो पनि रोकेको थियो, अहिले पनि रोक्छ । हामी प्रोटेस्ट गर्छौं । आज नेपाल बारको अध्यक्ष नै सर्वोच्चको गेटमा धर्ना बस्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.