राजनीति

सरकार आफैंले खनेको खाल्डोमा फस्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग प्रस्ताव टुंग्याउन विलम्ब गरेर सरकारले नै सफाई दिएको भन्दै सरकार आफैँले खनेको खाल्डोमा आफैँ परेको टिप्पणी गर्नुभएको छ ।

बालकोटमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले महाभियोगको फैसला गर्ने संसद नै नरहेपछि राणाले स्वतः सफाई पाएको बताउँदै अहिले अहिले उहाँलाई नजरबन्द गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सरकारी रबैयाप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले सेना पुलिस छ भन्दैमा लोकतन्त्रमा कसैलाई पनि ‘नजरबन्द’ गर्न पाइँदैन भन्दै सेना पुलिस छ भनेर जे पनि गर्ने, घर घेर्ने भन्दै प्रश्न गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री ओलीले सरकारले षडयन्त्रपूर्वक राणाविरूद्धको महाअभियोगलाई ६ महिनासम्म झुलाएको आरोप लगाउँदै महाअभियोग प्रमाणित नभएपछि राणा सर्वोच्चमा जाने राणाको प्रयास जायज भएको पनि बताउनुभयो ।

ओलीले भन्नुभयो ‘प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि किनारा लाग्नुपर्छ भनेर हामीले माग राख्यौँ । सत्तापक्षले गणितीय खेल खेल्यो, यो गलत भयो । सत्तापक्षले विलम्ब गरेर सफाइ दियो ।

प्रतिनिधिसभा निष्क्रिय भएसँगै आफूविरूद्धको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दै राणाले सर्वोच्च जाने प्रयास गरेपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

स्मरणीय के छ भने राणाले नै ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा पुनःस्थापित गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.