प्रबास

ओमानमा भव्य रुपमा मनाइयो संविधान दिवस

पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले एक अन्तक्र्रियात्मक श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानले नेपालीको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको बताउनुभएको थियो ।

नेपालबाट सहभागी कलाकारले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आआफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले संविधानको भावनाबमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने बताउनुभयो ।

हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे र कलाकार जीतु नेपालले आफ्नो प्रस्तुतिमार्फत संविधान दिवस एवं राष्ट्रिय दिवसमा सन्देश दिनुभएको थियो ।

कार्यक्रममा नेपाली राजदूत शर्मिला पराजुलीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूत तथा गायक हाइथम मोहम्मद रफिकले नेपाली गीतसङ्गीतमार्फत नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नुभयो ।

कार्यक्रममा विभिन्न सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ओमानबाट सगरमाथा आरोही पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा समाजसेवी डा चिथ्रा नारायणलगायत गैरआवासीय सङ्घका प्रवक्ता डिबी क्षेत्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा र ओमानस्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी एवम् प्रतिनिधिको सहभागिता रहेको मस्कटस्थित नेपाली दूतावास ओमनले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.