राजनीति

तीन तहकै सरकार अधिकारको प्रयोग गर्न सक्ने भएका छन् : परराष्ट्रमन्त्री ज्ञावली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले मुलुकमा सङ्घीयताको भविष्य उज्वल रहेकाले अहिले देखिएका असन्तुष्टि क्रमशः व्यवहारबाटै हट्दै जाने बताउनुभएको छ । नेपालक कानून समाज र कन्स्टिच्युसन वाच ग्रुपद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा छोटै अवधिमै वित्तीय, प्रशासनिक र कानूनी पाटोबाट सङ्घीयता स्थापित भइसकेको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञावलीले भन्नुभयो, “जनतामा हामीले सङ्घीयता पुष्टि गर्ने भनेको तत् सरकार कति बलियो र प्रभावकारी भए । जनताले कति सहजरुपमा सेवा पाए भन्ने कोणबाट हेरिनुपर्छ, यो सरकारले साढे दुई वर्षको अवधिमा ७६० वटै सरकारलाई आप्mनो खुट्टामा उभ्याएर आफ्नो अधिकारको प्रयोग गर्न सक्ने बनाएको छ ।”

आगामी केही वर्षभित्रै हाम्रो कार्यान्वयनको क्षमता वृद्धि हुने, अभ्यास र व्यवहारबाटै अनुभव लिएर कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन गर्ने सन्दर्भमा नागरिक समाजबाट हुने निष्पक्ष र वस्तुनिष्ट अडिटबाट आगामी यात्रालाई व्यवधानरहित बनाउन योगदान पुग्नेछ ।”

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान कार्यान्वयन गर्ने पक्ष इमान्दार भएमा धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको अधिकार सङ्कुचनको सोचबाट कतिपय विषयमा व्यवधान खडा गरिएको छ । संविधान अपूरो र अधुरो छ । दलित, पहाडका जनजाति मुद्दालाई समेट्न सकेको छैन । संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधान सबैको सर्वस्वीकार्य बन्न सक्दैन ।” संविधानमा पहिचान र सामथ्र्यका आधारलाई अनुसरण नगरिएको बताउँदै उहाँले संविधानले दिएको अधिकारलाई सबैले इमान्दारपूर्वक पालना गरेमात्र संविधान र सङ्घीयताले छिटो स्थायित्व पाउने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले धेरै मिहेनत र उत्साहवद्र्धक सहभागितामा लेखिएको संविधानलाई समाज रुपान्तरणतर्फ इमान्दारपूर्वक कति कार्यान्वयनमा गरियो भन्ने विषयमा निरन्तर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा लेखिएका अधिकारका विषयलाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ, जनताको जीवनस्तर र सेवा प्रवाहको कसीबाट संविधानको मूल्याङ्कन हुन्छ । त्यसका लागि स्रोत र संरचना व्यवस्थापन हेक्का राख्नुपर्छ, जनताले लाभ लिन सक्ने वातावरण बन्यो कि बनेन भन्ने महत्वपूर्ण पक्ष हो । त्यो हुन सकेको छैन ।”

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयको पाटो कमजोरी भए पनि छोटो अवधिमा कानून निर्माण र संरचना स्थापनाका लागि भएका प्रयास र अभ्यासलाई हलुका रुपमा लिन नहुने सल्लाह दिनुभयो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले एकात्मक र पितृसत्तात्मक रुपमा खडा भएको राज्यसत्ताले गरेको असमानतालाई तोडेर जनतालाई हकअधिकार उपलब्ध गराउने विषयमा लगातार दबाब र आवाज उठाउन आवश्यक छ भन्नुभयो ।

वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभासदस्य राधेश्याम अधिकारीले तीन तहको निर्वाचन, कार्यपालिका र केही कानून निर्माण भए पनि जनताले उठाइरहेका नागरिकता र मौलिक हकका विषयलाई उचित ढङ्गबाट सम्बोधन गर्न नसकेको अवस्था छ भन्नुभयो । राष्ट्रियसभा सदस्य रामनाराण विडारीले संविधानका राम्रा पक्षलाई व्यापक प्रचारप्रसार गर्दै लागू गर्न र अभ्यासमा जाँदा देखिएका नराम्रा पक्षलाई हटाउँदै लैजान सुझाव दिनुभयो ।

पूर्वमन्त्री गङ्गालाल तुलाधरले विश्वकै उत्कृष्ट संविधान बनाएको भनी गौरव गरिरहँदा अधिकार प्रत्यायोजित गर्न सङ्घ तयार गुनासोमात्र होइन सङ्घ, प्रदेश र स्थानीय तहबीच ठीक ढङ्गबाट समन्वय गर्न सरकार चुकेको धारणा व्यक्त गर्नुभयो । पूर्वमुख्य सचिव डा सोमलाल सुवेदीले जनताले चाहेको विकास, शान्ति र समृद्धिको सूचक अझै रातो देखिएको तथा अधिकार नपाएको भनी आवाज उठाइए रहेको प्रदेश र स्थानीय तह पनि सुशासनका पक्षबाट दोषमुक्त नरहेको टिप्पणी गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा राजनीतिक दलको प्रभाव देखिएको हुनाले न्यायालयको गरिमाप्रति प्रश्न उठेको हुँदा संविधान कार्यान्वयनमा देखिएका यस्ता कमीकमजोरी देखिएकालाई तत्काल सुधार गर्न सुझाव दिनुभयो । वरिष्ठ अधिवक्ता सूर्य ढुङ्गेलले राष्ट्रिय मुद्दामा सबै पार्टी एकसाथ अघि बढ्न सक्छन् भन्ने ठूलो सन्देश दिन सफल भएको छ । उहाँले भन्नुभयो, “गणतन्त्र, समावेशी, धर्म निरपेक्ष, समावेशीता आएको संविधानले स्थापित सबै सरकार कार्यान्वयनमा गए पनि प्रमुख राजनीतिक दल भित्रको आन्तरिक विवादले जनतामा ऊर्जा दिन भने चुकेको छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री कुन्तीकुमारी शाहीले संविधानमा धरै मौलिक हकका कुरा राखिए पनि कार्यान्वयनको पाटोमा प्रश्नै प्रश्न उठको तथा न्यायपालिकाप्रति जनआस्था घट्नु र भ्रष्टाचारले जरा गाड्नु भनेको संविधान कार्यान्वयनको पाटो ठीक मार्गबाट हिँडेको छैन भन्ने सङ्केत गर्छ भन्नुभयो । संविधानका ज्ञाता डा आनन्दमोहन भट्टराईले संविधानका मर्म, भावना र मूल्यमान्यतालाई आत्मसात् गर्दै अघि बढेमा वर्तमान संविधान कार्यान्वयन सहज रुपमै कार्यान्वयन गर्न सकिन्छ भन्नुभयो ।

पत्रकार हरिबहादुर थापाले संवैधानिक व्यवस्थाअनुरुप राज्यसंरचना नचल्दा मुलुकमा शक्ति सन्तुलनको स्थिति खलबलिएको धारणा राख्नुभयो । आयोजक संस्था वाच ग्रुपका अध्यक्ष तीर्थमान शाक्य र नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले संविधानमा लेखिएका अधिकारलाई कार्यान्वयनमा लैजाने विषयलाई प्राथमिकतामा राख्न सरकार र राजनीतिक दललाई सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.