कर्पोरेट/पर्यटन

रानीपोखरीले पायो पुरानो स्वरुप : भरियो तीन करोड लिटर पानी

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको उपत्यकाको ऐतिहासिक रानी पोखरीले पुरानो स्वरुप पाएको छ ।  पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

पोखरीको पुनःनिर्माण लगगभग सम्पन्न भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो ।

पोखरीमा पानी भरिएसंगै मन्दिरको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको छ । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो ।

रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिनुभयो । पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

पुनःनिर्माणको नाममा आधुनिक व्यापारिक कम्प्लेक्स निर्माणको तयारी भएपछि स्थानीयबासी र पुरातत्वविदहरुको चर्को बिरोधपछि रानीपोखरीको पुरानै संरचनामा पुनःनिर्माण भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.