राजनीति

संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताउनुभएको छ ।

संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरू देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताउनुभएको छ ।

संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उहाँले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताउनुभयो ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रूपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रूपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ ।

उहाँले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गर्नुभएको छ ।

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन भएको उल्लेख गर्दै उहाँले आजको दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उपराष्ट्रपति पुनले सङ्घर्षका घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

“यो ऐतिहासक दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै आफ्नो अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु” ।

उहाँले सन्देशमा भन्नुभएको छ, “बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थालगायत नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ ।”

उपराष्ट्रपति पुनले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिइएको जनाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.