संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा उहाँले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताउँदै सबैले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन आह्वान पनि गर्नुभएको छ ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “जेनजीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका हौँ, तर अहिले जेनजीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु राम्रो होइन ।”
आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता लगायत महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायको संवैधानिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाले अब हिनाताबोधभन्दा पनि सक्रियताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले जेनजी आन्दोलन हुनुअघि नै आफूले पार्टी नेतृत्व हस्तान्तरणको प्रस्ताव गरिसकेको दावी गर्दै यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको पनि बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्