जल/वातावरण

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १५ हजार, छसयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या डरलाग्दोसंग बढिरहेको छ । हालसम्म उपत्यकामा १५ हजारभन्दा बढी संक्रमित भैसकेका छन् । निषेधाज्ञा हटाइएसंगै उपत्यकामा दैनिक ७ सयभन्दा बढी संक्रमित बढिरहेका छन् भने यसरी संक्रमित हुनेमा स्वास्थ्यकर्मीको संख्या पनि ठूलो छ ।

अहिलेसम्म उपत्यकामा मात्र ६ सयभदा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भैसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभएको छ । उहाँले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्रयाक ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताउनुभयो ।

उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना सङ्क्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८५९ जना सङ्क्रमित भएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उहाँले सङ्क्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय सङ्क्रमित छन् ।

यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनका कर्मचारी छन् । सङ्क्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स छन् ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो । अहिले मुलुकभरि ६१ हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ भने ४३ हजार ८२० जना सङ्क्रमण निको भएर घर फर्किसकेका र ३९० जनाको सङ्क्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.