जन सरोकार

कामपा चीनको शैलीमा विकास गर्न अघि बढेको छ

उच्च अदालत पाटले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको भए पनि काठमाडौं महानगरपालिकाले त्यसलाई निरन्तरता दिएको छ ।

आइतबार अदालतको आदेश आए पनि सोमबार टुकुचा उत्खनन अभियान जारी राख्दै महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनुभयो ।

उहाँले महानगरपालिका चीनको शैलीमा विकासमा अघि बढेको बताउँदै महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’’

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.