राजनीति

गठबनधनमा छटपटी, बाहिर रहेकाहरु खुसी, बालेन राष्ट्रपतिको कदमको पक्षमा

आफूले सन्देशसहित पुनः विचारका लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई बहुमतको दम्भमा जस्ताको तस्तै पुनः पारित गरेर प्रमाणिकरणका लागिा पठाइएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक खोपामा थन्क्याएर राखिदिनुभो ।

संविधान अनुसार विधेयक प्रमाणिकरण हुनुपर्ने अवधि आज समाप्त भएपछि सत्तापक्षका नेताहरु अत्तालिएर राष्ट्रपतिले संविधानको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्न थालेका छन् ।

उता सत्ता गठबन्धनमा नरहेकाहरु भने राष्ट्रपतिले सही काम गरेको टिप्पणी गरिरहेका छन् । यस विषयमा पक्ष विपक्षमा चर्को दोहोरी सामाजिक सञ्जालमा चलिरहेको छ ।

विधेयक प्रमाणिकरण नभएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीट गर्दै राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेर प्रणाली नै खतरामा पार्ने काम गरेको आरोप लगाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “जननिर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।”

उता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- “प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।”

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पनि राष्ट्रपतिको कदमको समर्थन गर्नुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ- “राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सहि निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।”

यसै विषयमा वरिष्ठ पत्रकार किशोर नेपालले त राष्ट्रपतिलाई शितल निवासबाट घोक्र्याएर निकाल्ने ताकत गठबन्धन सरकारमा छ कि छैन भन्ने प्रश्न उठाउनुभएको छ ।

उहाँले ट्वीट गर्दै लेख्नुभएको छ- “उप-राष्ट्रपति नन्दकिशाेर पुनलाई राष्ट्रपतिकाे कार्यभार सुम्पिएर नेपाल कम्युनिष्ट पार्टी एमालेकाे नेतृत्वमा सक्रिय हुने चाहना हाेला नि बिद्या भण्डारीजीकाे ! बरू, गठबन्धन सरकारकाे नेतृत्वमा संविधान बिराेधी राष्ट्रपतिलाई शितल निवासबाट घाेक्य्राएर निकाल्ने ताकत छ कि छैन ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.