मोहनविक्रमको भविष्यवाणी- ‘प्रतिगमनको खतरा ०१७ वा ०५९ सालमा भन्दा पनि गम्भीर’
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर रहेकाले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको दावी गर्नुभएको छ ।

मंगलबार प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताउनुभयो ।
उहाँले नेकपा (एमाले)ले संसद् विघटन गरेर प्रतिगमनकारी काम गरेको आरोप लगाउँदै प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ कि भनेर विभिन्न कार्यक्रम गरिरहेको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा सिंहले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण सिट बाँडफाँटको कुरा नमिलेको भए पनि अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने पनि बताउनुभयो ।
गत स्थानीय निर्वाचनमा आफूहरूले इमान्दारी प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भन्नुभयो, “बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस र माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे ।”
प्रतिक्रिया राख्नुहोस्