कला/मनोरन्जनकलिउड

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : हरिवंश

अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताउनुभएको छ । अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताउनुभयो ।

उहाँ अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आचार्यले अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहनुभएको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताउनुभयो । “अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ ।

महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ”, उहाँले भन्नुभयो । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पु¥याउने उहाँले बताउनुभयो ।

केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उहाँले बताउनुभयो । अभिनेता आचार्यले पूर्णरुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताउनुभयो । “यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गर्नुभएको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ”, उहाँले भन्नुभयो ।

जात्रा, ‘सत्रुगत’ र ‘जात्रै जात्रा’को सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । “हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विध्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो”, उहाँले भन्नुभयो ।

‘लोभी पापी’ पश्चात् दोस्रो पटक अभिनेता आचार्यसँग स्क्रिन सेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी हुनहुन्छ । “यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाइको जोडी बनेर देखिन पाउँदा खुसी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ”, अभिनेत्री मल्लले भन्नुभयो ।

यसै फिल्मबाट अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै हुनहुन्छ । मह जोडीसँग डेब्यु गर्न पाउँदा अरुण निकै उत्साहित हुनुहुन्छ । “म जापान छाडेर यहाँ अभिनयमा आफ्नो भविष्य बनाउन प्रयासरत थिएँ । उहाँहरुसँग जोडिएर पाइला टेक्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन । डेब्यु फिल्ममै मैले उहाँहरुबाट धेरै सिकेको छु”, अरुणले भन्नुभयो । डेब्यु अभिनेत्री अञ्जनाले आफ्नो लागि स्कुलिङ भएको बताउनुभयो ।

फिल्म ‘महापुरूष’ आउँदो कात्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कङ्साकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतले पनि अभिनय गर्नुभएको छ ।

यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्टस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ । फिल्ममा दीपक बज्राचार्यले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन गर्नुभएको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारका रुपमा फिल्ममा डेब्यु गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.