बिचार

आधुनिक विज्ञान रोइरहँदा झारपात र वनस्पतिमा जीवन रक्षाको खोजी…

यादब देवकोटा

कोरोना भाइरस संक्रमणबाट मानिसलाई बचाउन विज्ञान यतिबेला युद्धस्तरमा लागिपरेको छ । ९ महिनायतादेखि विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोक्न विश्वका १ सय ७० भन्दा बढी मुलुकमा अनेक प्रयोग भैरहेको छ तर, स्पष्ट नतिजा आएको छैन र अझै केही वर्ष लाग्ने आँकलन भैरहँदा यसबाट बच्न विभिन्न वनस्पति र जडिबुटी प्रयोग गर्ने सुझाव आइरहेका छन् । जडिबुटी नै जीवन हो भन्नेमा कसैको विमती नहोला र हजारौं वर्ष पहिले नै ऋषिमुनीहरुले मानिसको जन्मस्थल, त्यहाँको हावापानी अर्थात् वातावरण अनुसार त्यही भूमिमा उसलाई चाहिने औषधि उपलब्ध छ भनेर शास्त्र नै तयार गरेका छन् ।

अर्थात् जुन देशका नागरिक हुन् तिनका लागि आवश्यक औषधि त्यही देशका जडिबुटी र झारपातमा हुन्छ । आयुर्वेदमा लेखिएको छ– “यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्” अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ । नेपालीका लागि नेपालकै जडिबुटी, झारपात, वनस्पति नै यहाँका लागि रोग निरोधक र शक्तिवद्र्धक औषधि हुन् । यसलाई वेदमा लिपिबद्ध गरिएको छ । वेदलाई विश्व–ब्रह्माण्डको ज्ञानको भण्डार भनिन्छ । सृष्टि संचालनका लागि राजनीति, अर्थनीति, समाजनीति अनि विज्ञान–प्रविधि (चिकित्सा) पद्धतिको व्याख्या गर्दै चार वेद रचना गरिएका छन् र वेदमा जे छ त्यो मात्रै सृष्टिमा छ भन्ने मान्यता पूर्वका विद्वानहरुले मात्र हैन पश्चिमा विद्वानहरुले पनि स्वीकार गरेका छन् । समयमा आधुनिक विज्ञानले पनि प्रमाणित गरेका जडिबुटी (झारपात, वनस्पति)हरुलाई लाखौं वर्षअघि आयुर्वेदमा उच्च महत्वका साथ उल्लेख गर्दै कुन रोगमा के खाने वा के के सेवन गर्दा रोगव्याधी लाग्दैन भन्ने विवरण लिपिबद्ध गरिएका छन् र आज त्यही विषय सबैभन्दा बढी चासोमा रहेको छ ।

आज नेपाल लगायत विश्व नै कोरोना भाइरस संक्रमणले आक्रान्त भैरहेका बेला यिनै जडिबुटी, वनस्पति वा झारपातको उच्च महत्व आधुनिक पद्धतिका चिकित्सकहरुले समेत उजाग गरिरहेका छन् । उनीहरु हाम्रो घर वरिपरी हुने यस्ता वस्तु नियमित सेवन गर्न परामर्श दिइरहेका छन् । अत्याधुनिक सुविधासम्पन्न अस्पतालमा बसेर जडिबुटी, झारपात र वनस्पति खानुपर्ने नियतिको शिकार आधुनिक समाजका भनिएका हामीहरु भैरहेका छौं । यसको अर्थ के हो भने हामी जतिसुकै सभ्य भनिए पछि, जतिसुकै विकसित भनिए पनि र जतिसुकै सुविधासम्पन्न भनिए पनि प्रकृतिभन्दा टाढा रहन खोज्यौं भने दुःख पाउनु स्वाभाविक छ । अहिले कोरोना संक्रमणको उपचार नै नहुनु र यसबाट बच्न अर्थात् संक्रमण हुन नदिन र भए पनि प्राकृतिक जीवनशैलीबाटै निर्मूल गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ । विश्वभर जडिबुटीबाट बनेका अनेकथरिका औषधिहरु बजारमा छ्याप्छ्याप्ती भएका छन् ।

एक किसिमले भन्ने हो भने आधुनिक विज्ञानको उपलब्धि अहिलेको समयका लागि शून्य जस्तै छ । आज मानिस प्राकृतिक जीवनयापनको खोजीमा छन् । विज्ञान र प्रविधिको उच्चतम विकास, भौतिक सुविधा, अनि कोठाभित्रै बसेर संसार हेर्न, देख्न सकिने गरी गरिएको प्रविधिको विस्तार पनि मानिसलाई सुख दिंदो रहेनछ । आज संसारभर कोरोना भाइरसको महामारी फैलिइरहेका बेला हरकोहीको मुखबाट विभिन्न वनस्पति र झारपातको सेवन गर्ने सुझाव आउन थालेको छ । अरु त अरु चिकित्सा पेशामा संलग्न र विज्ञहरुबाटै कोरोना संक्रमण हुन नदिन र भए पनि जडिबुटीको सेवन गर्न सुझाव दिने गरिएको छ ।

कोरोनालाई विज्ञानले छेक्नै सकेको छैन । विश्वमा साँढे दुई करोडभन्दा बढी संक्रमित भैसकेका छन् । नेपालमा ६२ हजार नाघेको छ । दैनिक संक्रमितको संख्या हजारभन्दा बढीले थपिएका छन । यस्तामा नेपालमा एउटा अभियान चलिरहेको छ । कोरोनाबाट बच्न गुर्जोको सेवन । अनि गुर्जो रोप्ने अभियान नै चलिरहेको छ । गुर्जो मात्र हैन, नेपालीका लागि नेपालमा उम्रने हरेक वनस्पति औषधि हो । नेपाल जडिबुटीको भण्डार हो । यहाँ नपाइने कुरा केही पनि छैन । यार्सागुम्बा संसारकै लागि आकर्षक जडिबुटी हो । यो अत्यधिक शक्तिबद्र्धक मानिन्छ र यसको मूल्य उच्च छ । तर, हामीले यार्सागुम्बा प्रशोधन गर्न सकेका छैनौं ।

प्रकृतिले मानिसलाई दिएको स्रोतको समुचित उपयोग गर्न सके मानिसले बेकारको दुःख पाउनु पर्दैन । आफ्ना नागरिकलाई स्वस्थ, बलियो र कर्मशील बनाउन चाल्नुपने कदम सरकारको हो । नेपालको संविधानले स्वास्थ्य प्राप्त गर्नु नागरिकको मौलिक हक भनेर उल्लेख गरिसकेको अवस्थामा अब आयातित औषधिमा मात्र भर नपरी यहींका जडिबुटीहरुको थप अनुसन्धान र प्रशोधन, निर्यात र स्वदेशमै खपत गर्ने बानी बसाल्न सके मुलुकले विदेशी मुद्रा पनि कमाउने छ, जनताको जीवन रक्षा पनि हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.