राजनीति

परोपकारी संस्थाले निःस्वार्थ रुपमा सेवा गर्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्यौ, त्यो महत्वपूर्ण कुरा हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।” उहाँले समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामथ्र्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिनुभयो । ।

परिषद्का सदस्य डा मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि गैरसरकारी संस्थाले रु दुई अर्ब सहयोग गरेको बताउनुभयो । यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.