जन सरोकार

भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना : १२ जनाको मृत्यु

बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् ।

समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । त्यस्तै रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताउनुभयो । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.