अर्थ

बैंक पैसा राखेर ब्याज लिने संस्कारले उत्पादनमूलक उद्योग स्थापनामा समस्या

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताउनुभएको छ ।

बिहिबारदेखि काठमाण्डाै शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।”

उहाँले बिना लगानी सहजै रूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने ? भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र केही न केही हल आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अर्थतन्त्र बलियो बनाउनका सबै तह र तप्काका बीचमा साझा सहकार्यको जरुरी रहेको र निर्यात बढाउँदै आयात प्रतिस्थापन गर्ने सन्दर्भ नै उत्तम विकल्प भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै लागौँ । निजी क्षेत्रलाई काम गर्न थप सहज पार्ने हो । जुनसुकै अवस्थामा पनि हामी नेपाली आफैँ आफ्नो उत्पादनमा बाँच्न सक्ने हुनुपर्छ ।”

उहाँले विद्युतीय सवारी साधन सँगसँगै हाइड्रोजनबाट चल्ने सवारी साधनका बारेमा पनि सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “धेरैको ध्यान अहिले त्यसतर्फ गइरहेको पनि छ । तर, यसलाई व्यावसायिकरूपले कसरी उत्पादन गर्ने भनेर सोच्न आग्रह गर्छु ।”

उहाँले अबको समय भनेको ग्रिन हाइड्रोजनको भएकाले हामीले पनि त्यतातिर जानुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले जुनसुकै चुनौती आए पनि हामी आफैँ बाच्न सक्छौँ र थेग्न सक्छौँ भन्ने स्तरमा मुलुकलाई पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हाल बढी भएको बिजुली निर्यात भइरहेको सन्दर्भ जोड्दै त्यसलाई उत्पादनमा लगाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विद्युत् निर्यात गर्ने नभएर विद्यत्बाट उत्पादित वस्तुहरुको निर्यात गर्ने हो । अब विद्युत्बाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.