राजनीति

हुम्लामा चीनद्वारा नेपाल भूमि अतिक्रमण- आफ्नै भूभाग रहेको चिनीया दावी

नेपाल र भारतबीच मात्र सीमा विवादको चर्को आवाज उठ्ने नेपालमा पछिल्लो समय चीनबाट नेपाल भूमि अतिक्रमण ग। भवन निर्माण गरेको खबर आएपछि सो क्षेत्रको अध्ययनका लागि गएको नेपाली टोली काठमाडौं फर्किएको छ । स्थलगत अध्ययन टोलीलाई चिनियाँ सेनाले आफ्नै भूमिमा भवन बनाएको दावी टोली रित्तैहात हुम्ला फर्कियो ।

समाचार अनुसार हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेपछि टोली फर्किएको र यो समस्याको समाधान केन्द्रीय तहबाटै हुनुपर्ने उनीहरुको तर्क छ ।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो । टोलीलाई चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको र दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको बताएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो ।

तामाङका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ । विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको तर अहिले सीमास्तम्भ हराएको छ । त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव दिने अधिकारीहरूले बताएका छन् ।

स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो । त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवनहरू बनाएकोभन्दा एक किलोमिटर वर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आएको र नेपालको ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले यकिन गर्न गाह्रो भए पनि लाप्चा लेकमा रहेको १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने चीनले भवनहरू बनाएको स्थान नेपाली भूमिमा पर्ने देखिन्छ । अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली हो ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए ।

एउटा ट्याङ्कर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए ।

चिनियाँ पक्षले भनेको दुई देशबीचको सीमा ती भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर रहेको जनाएको थियो । सीमा अध्ययन टोलीका अनुसार नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा रहेको उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो । ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको पाइएको अध्ययन टोलीले जनाएको छ ।

तामाङले आफूले चिनियाँ प्रहरीलाई सैनिक राख्न भवन बनाइएको हो वा होइन भनेर सोधेको र त्यसको जबाफमा एक तिब्बती मूलका प्रहरीले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएको उल्लेख गरे ।

चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए । प्रमुख जिल्ला अधिकारी गिरीले स्थलगत अध्ययनको प्रतिवेदन केन्द्रमा पठाउने र राष्ट्रिय स्तरबाटै समाधान खोज्नु पर्ने आशयको धारणा राखेको गाउँपलिका अध्यक्ष तामाङ बताउँनुहुन्छ ।

अध्यक्ष तामाङले भन्नुभयो “मेरो विचारमा हामीले ११ नम्बरको पिलर रहेको स्थान पत्ता लगाउन सक्यौँ भने उनीहरूले पनि र हामीले पनि गलत दाबी गर्ने ठाउँ रहँदैन। हाम्रो स्तरबाट यो समाधान हुने देखिँदैन। यो विषय राष्ट्रिय स्तरबाट हेर्नुपर्छ। हामी त स्थलगत प्रतिवेदन पठाउने मात्रै हो ।”

नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिए पनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको तामाङले बताउनुभयो । हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन्। झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट टिपर चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ ।

उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा जाङ, हल्जी र तिल गाउँहरू छन्। उक्त वडाको केन्द्र हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ । यसअघि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको टोलीले स्थलगत भ्रमणका क्रममा उक्त स्थानमा चिनियाँ पक्षले भवनहरू बनाएको फेला पारेको थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.