जन सरोकार

नगरपालिकाको सह्रानीय काम, सीमान्तकृत समुदायलाई ऋण मुक्त गराउने

धनकुटा नगरपालिकाले पालिकामा रहेका अल्पसङ्ख्यक सीमान्तकृत आठपहरिया समुदायले साहुसँग दृष्टिबन्धक (व्यक्तिको नाममा बन्धकी) राखेको जमिन उकासेर फिर्ता गरिदिने भएको छ ।

नवनिर्वाचित पालिकाको असार ७ गते बसेको पहिलो बैठकले सात सदस्यीय कार्यदल गठन गरी नगरसभाबाट पारित गरेर यसको प्रक्रियाका लागि प्रारम्भिक सर्वेक्षण सुरु गरेको छ ।

कार्यदलले आठपहरिया जातिको संस्था र व्यक्तिसँग अन्तरक्रिया गर्ने क्रममा बुधबार बढी प्रभावित मानिएको नगरको वडा नं ८ का प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलमा सहभागी टेकुनाला गाउँका रुजान आठपहरियाले नगरको यो काम स्वागतयोग्य भएको प्रतिक्रिया दिँदै बंैक तथा वित्तीय संस्थामा राखिएको जमिन पनि फिर्ता गर्नुपर्ने सुझाव दिनुभयो ।

“यो काम स्वागतयोग्य छ । तथापि अहिले धेरै आठपहरियाको जमिन व्यक्ति बन्धकी हुँदै बैंक र वित्तीय संस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “उनीहरुको जमिन र घर लिलाम भएर उठिबास हुने अवस्थामा छ ।”

दृष्टिबन्धक जमिन फुकुवा कार्यदलका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले हाल नगरमा एक सयभन्दा बढी दृष्टिबन्धक राखेर साहुबाट ऋण लिएकाको पहिचान भएको जानकारी दिनुभयो । सर्वेक्षणको प्रतिवेदन विधेयकका रूपमा आउने नगरसभामा पेस गरिने उहाँले जानकारी दिनुभयो ।

प्रस्तुत प्रतिवेदनलाई आधार मानेर नगरले दृष्टिबन्धकसम्बन्धी ऐन तथा नियमावली तयार गरेर कार्यान्वयनको चरणमा जाने नगर प्रमुख चिन्चन तामाङले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका उद्गम थलो भई आफ्नो छुट्टै सस्कार÷संस्कृति रहेको यी जाति हाल नगर क्षेत्रमा करिब आठ हजारको सङ्ख्यामा रहेका छन् । भिन्न संस्कार संस्कृतिका कारण अन्य जाति तथा समाजमा अन्तरघुलन हुन नसक्दा यी जाति राज्यको पहुँचभन्दा टाढा रहँदै आएका छन् ।

विसं २०१५ सम्म बिर्तावाल जमिनका मालिक रहेका यी जातिले २०१६ सालमा बिर्ता उन्मूलन भएपछि आफ्ना बाँकी भएका जमिन साहुको घरमा राखेर आफ्ना संस्कृति तथा सामाजिक परम्परा धान्दै आएका थिए ।

अधिकांश घरपरिवारको जमिन साहुकोमा भएको यस विषयलाई निराकरण गर्न गएको स्थानीय तहको चुनावमा धनकुटा नगरपालिकाका प्रमुखले आफ्ना चुनावी घोषणा–पत्रमा दृष्टिबन्धक फुकुवाको योजना समावेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.