अर्थकृषि

कति खसी-बोका चाहिन्छ उपत्यकाका लागि दशैंमा ?

यस वर्षको बडा दशैंका लागि राजधानी काठमाडौं उपत्यकाका लागि लगभग ७० हजार खसी-बोका आवश्यक पर्ने अनुमान गरिएको छ ।

विगत दुई वर्षको दशैं कोरोना संक्रमणका कारण अलिक खल्लो भएको र यसपटक कारोनाको कहर नरहेका कारण अघिल्ला वर्षको तुलनामा बढी खसी-बोका आवश्यक पर्ने बताइएको छ ।

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यो वर्ष कोरोना सङ्क्रमण सामान्य बन्दै गएकाले दशैँ उल्लासमय हुने देखिएकाले दशैँका लागि काठमाडौं उपत्यकामा मात्र ६० देखि ७० हजार खसी-बोकाको मासु खपत हुने देखिएको छ ।

गत वर्ष काठमाडौं उपत्यकाका लागि ५५ हजार खसी-बोका भित्रिएको र गत वर्षभन्दा यस वर्ष १५ हजार बढी खसी-बोका खपत हुने विभागको प्रक्षेपण छ ।

महत्वपूर्ण कुरा के छ भने यसपटकको दशैंका लागि काठमाडौं उपत्यका लगायत देशभरका लागि आवश्यक खसी-बोका आयात गर्नु नपर्ने र आन्तरिक उत्पादनले धान्ने ढकालले बताउनुभएको छ ।

विभागले उत्पादन, उपभोक्ता, नगरपालिकाहरुसँग आपूर्ति सुनिश्चितताका लागि छलफल गरेको थियो । छलफलमा स्वस्थ्कर खसी-बोका कसरी उपभोक्तामाझ पुर्याउने र व्यवस्थापकीय भूमिकामा सबैले सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजारको हाराहारीमा खसी-बोका र च्याङ्ग्रा ल्याउने भएको छ । आवश्यक पर्ने अन्य खसी-बोका भने व्यवसायीमार्फत नै ल्याइनेछ ।

यसपटकको दशैँमा खपत हुने खसी-बोकाको माग आन्तरिक उत्पादनले नै धान्ने बताइएको छ । खसीबोका व्यावसायीसँग विभागले गरेको छलफलमा आन्तरिक उत्पादनले नै माग धान्ने व्यवसायीको तर्क रहेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

विगतका वर्षमा देशबाहिरबाट पनि खसी-बोका आयात गरेर बिक्री वितरण गरिए पनि यसपटक भने आन्तरिक उत्पादनबाट नै मागको पूर्ति गरिने व्यावसायीले बताएका छन् ।

यस्तै यसपालि विभागले च्याङ्ग्रा व्यवसायीलाई पनि च्याङ्ग्रा खरिद गर्न आग्रह गरेको छ । ‘च्याङ्ग्राको माग पनि हुने भएकाले व्यवसायीलाई खरिद गर्न सक्ने अवस्था भए खरिद गर्न आग्रह गरेका छौँ । केही व्यवस्थापनमा कठिनाइ भए विभागले सहयोग गर्ने पनि निर्णय भएको छ’, ढकालले भन्नुभयो ।

यस्तै विभिन्न जिल्लाबाट व्यवसायीले खसी-बोका उपत्यका ल्याउदा कुनै कठिनाइ भए पशु सेवा विभागले सहयोग गर्नेछ । ढकालका अनुसार उपत्यकामा खसी-बोका आइसकेपछि विक्री वितरण हुनुभन्दा अघि स्वास्थ्य परीक्षण गरेर कलरिङ् गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.