कला/मनोरन्जनकलिउड

कोरोनाको त्रास मेटाउँदै बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३

कोरोना भाइरस संक्रमणबाट बल्ल शान्त भएको नेपाली समाजले यस वर्षको बडा दशैं धुमधामसंग मनाउने पक्का भएको छ । दशैंको खुसीयालीसंगै मनोरञ्जनका लागि पनि बहुप्रतिक्षित चलचित्रहरु प्रदर्शन आरम्भ भएको छ ।

दुई वर्षअघि नै प्रदर्शनको मिति तोकेर कोरोनाकै कारण रोकिएको र यसबीचमा हिन्दी भाषामा समेत स्वरांकन भएको प्रेमगीत ३ आज (भदौ ७)बाट नेपाल, भारत र विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।

भारतमा प्रेमगीत ३ ले राम्रो प्रतिक्रिया पाएको छ भने नेपालमा पनि दर्शक उत्साहितत छन् । दशैंको समय, उल्लासको वातावरणमा बेग्लै स्वादको चलचित्र हेर्न पाउँदा दर्शक खुसी छन् ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्रमा नेपालका अन्तर्राष्ट्रिय स्तरका दिग्गज अभिनेता शिव श्रेष्ठ र सुनील थापाका साथमा प्रदीप खड्का, कृष्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चहो ।

डेढ सय वर्षअघिको कथामा आधारित चलचित्र प्रेमगीत ३ साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् ।

यस चलचित्रमा मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

दशैंकै अवसर पारेर चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो ।

यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टे«लिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिनुभयो । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गर्नुभएको हो ।

चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ ।

यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ ।

चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो ।

त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आउनुभएको हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो ।

उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् ।

त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.