कुलमानको विदाईसंगै लोडसेडिङको कुलक्षण
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसंगै वर्षौंदेखिको लोडसेडङि अन्त्य भए पनि यतिखेल उपत्यकामा दैनिक विद्युत कटौती हुन थालेको छ । यो एउटा संयोग मात्रै हो कि नियोजित हो भन्नेमा आम जनता भ्रमित छन् । प्राधिकरणले विना सूचना दैनिक घण्टौं विद्युत काट्न थालेको छ ।
गत भदौ २९ गते आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका कुलमानलाई पुनः सोही पदमा वहाल गराउनुपर्ने आवाज सडकमा उठिरहेको र उनको विदाईसंगै लोडसेडिङ सुरु हुने आशंकालाई यतिबेला दैनिक जान थालेको विजुलीले सत्यमा परिणत गरिदिएको छ ।
कुलमानको आगमनसंगै देशमा ब्याट्री र जेनेरेटर व्यापारीहरुको दोहोलो काढिएको र आम सर्वसाधाण जनता उज्यालोकै लागि अतिरिक्त खर्च गर्ने बाध्यताबाट मुक्त भएका थिए भने अब पुनः इन्टरर्टर जडान गर्नुपर्ने बाध्यतामा पुग्ने कुलक्षण देखा परेको छ ।
कुलमानको विदाईसंगै दैनिक निभिरहेको विजुलीका कारण प्राधिकरण पुनः माफियाहरुकै चंगुलमा पुगेको त हैन भन्ने प्रश्नकाबीच कुलमानको औचित्य अरु पुष्टि भएको छ । ३४ अर्बभन्दा बढी कूल घाटामा रहेको विद्युत प्राधिकरणलाई आफ्नो कार्यकालको अन्तिम वर्ष ११ अर्बभन्दा बढी नाफामा छाडेर गएका कुलमानको कुशलता विद्युत क्षेत्रमा कति रहेछ भन्ने अहिलेको घटनाक्रमले अरु पुष्टि गरेको छ ।
नेपाल विद्युुत प्राधिकरणमा अब थिति बसेको छ र कसैले पनि बदमासी गर्न सक्दैन भन्ने सालिन सोच गलत सावितहुन पुगेको छ अहिलेको घटनाक्रमले । विना सूचना दैनिक घण्टौं लाइन काट्नुपर्ने कारणबारे आधिकारिक तहबाट कुनै प्रष्टोक्ति आएको छैन । ऊर्जा मन्त्रालयले बत्ती निभेमा सिधै मन्त्रालयमा फोन गर्नु भने पनि त्यसप्रति जनताको विश्वास छैन ।
अहिले दैनिक विहान, दिउँसो र बेलुकाको समयमा बत्ती निभ्दा अनलाइन कक्षा लिइरहेका विद्यार्थीहरु ठूलो मारमा परेका छन् । यसले खर्च बढाएको मात्रै छैन आम जनताको आक्रोशलाई अरु चुल्याएको छ । कुलमान घिसिङले विद्युत प्राधिकरणमा जे गरेर गए त्यो उनको जिम्मेवारी थियो । तर त्यस्तै जिम्मेवारी लिएका अहिलेका निमित्त कार्यकारी निर्देशकले किन विगतको लय समाप्त सकेनन् भन्ने प्रश्न उठिरहेको छ ।
मध्य वर्षाको समयमा दैनिक घण्टौं विद्युत काटिनु कतै ब्याट्री र जेनेरेटर व्यापारीलाई पोसेर कमिशन खाने मेसो त हैन भन्ने प्रश्न ज्वलन्त भएको छ । जनता डुबाएर व्यक्ति पोस्ने विगतको खेलकै निरन्तरता हुन लागेको त हैन भन्ने घरघरको प्रश्न बनेको छ । एउटा योग्य व्यक्तिलाई पुनः सोही निकायको जिम्मेवारी दिने सवालमा सरकारले देखाएको अनुदार प्रवृत्ति कसैका लागि पनि पाच्य विषय बनेको छैन ।
कुलमानका विषयमा सरकार कति अनुदार छ भन्ने उदाहरण छ प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाटै थाहा हुन्छ । अघिल्लो साता एक कार्यक्रममा उहाँले “मुसा मार्ने बिरालो कालो वा सेतै हुनुपर्छ भन्ने छैन” भन्दै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्छ भन्ने जनताको आवाजलाई कुल्चने प्रयास गर्नुभयो ।
हो मुसामार्ने बिरालोको रंग हैन उसको जिम्मेवारी हेरिनुपर्छ तर यहाँ त मुसा मार्ने जिम्मेवारी लिएको बिरोलो भकारी रित्याउन लागिपर्ने हुँदा विगतमा मुुसा मारेकै बिरालो पुनः पाल्नुपर्ने माग जनताबाट उठेको हो । अहिले दैनिक विद्युत काटिने क्रम सुरु भैरहँदा जनताको आक्रोश अरु चुलिने निश्चित छ ।
देशको आर्थिक विकासमा एउटा महत्वपूर्ण पाटो बनिरहेको विद्युत क्षेत्रमा एउटा कुशल नेतृत्व नहुँदा अन्धकार बढ्ने मात्रै हैन अर्बौं लगानीका विद्युत आयोजना, प्रसारण लाइन तथा वितरण प्रणाली अनि शहरी क्षेत्रमा भैरहेको सुधारका कामहरु सबै ठप्प हुने र भद्रगोलकै स्थितिमा पुग्ने त हैन भन्ने चिन्ताले सताएको छ ।
कुलमानको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले चार वर्षमा जे ग¥यो त्यो आगामी धेरै वर्षसम्म निरन्तर चल्नपर्नेछ । आयोजनाहरु समयमै सक्न उनले देखाएको अग्रसरता, अबरोध सिर्जना गर्न खोज्ने संस्थाका कर्मचारीदेखि स्थानीय तहका राजनीतिक तह अनि गुण्डागर्दी गर्नेहरुलाई तह लगाएर जसरी काम सम्पन्न गने बाटोमा प्राधिकरण पुगेको थियो अब ती सबै अबरुद्ध हुने चिन्ता पनि थपिएको छ ।
प्रतिक्रिया राख्नुहोस्