राजनीति

हुम्लामा हराएको सीमास्तम्भ भेटियो : "चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी"

नेपालको उत्तरी सीमामा चीनले नेपाली भूमिमा चीनले भवनहरु बनाएको भन्दै समाचार आएपछि यसको खोजीमा स्थानीय प्रशासनले पहल थाल्यो । हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले बनाएको संरचना नजिक पुगेपछि चिनीयाँ सुरक्षाकर्मीले भवन आफ्नै भूमिमा बनेको भन्दै फर्काइदिए ।

यसबीचमा सो क्षेत्रमा रहेको ११ नं. को सीमास्तम्भ नभेटिएपछि यसको थप अध्ययन भैरहँदा बुधबार राति सो स्तम्भ फेला पर्योे । सो सीमा स्तम्भ त्यही  राखिएको थियो कि उखेलेर मिल्काइएको भन्ने थप अनुसन्धानको विषय बनेको छ ।

सीमा मिचिएको समाचार बाहिरिएपछि परराष्ट्र मन्त्रालयले र बुधबार सरकारका तर्फबाट सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप कुमारा ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नरहेको र अहिले सार्वजनिक भएका समाचारहरु तथ्यहीन रहेको बताएको केही घण्टामै हराएको सीमास्तम्भ भेटिएपछि सरकारको चीनको बचाउ गर्दै दिएको टिप्पणीको आलोचना पनि हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै सरकारले हतारोमा धारणा सार्वजनिक गरेको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिंदैन ।

शर्माले भन्नुभएको छ ‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो वा होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन ।’

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ- पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अध्ययनकै क्रममा रहेको भन्दै शर्माले भनेका छन्, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’

साथै स्थलगत अध्ययन टोली सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने विज्ञप्तिमा उल्लेख छ ।

बुधबार वर्षौंदेखि फेला पार्न नसकिएको नेपाल-चीन सीमानाको ११ नम्बरको पिलर बुधबार भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले बुधबार सीमा स्तम्भ फेला पारेको हो ।

बुधबार साँझ टाकुल्ले भन्ने ठाउँमा ११ नम्बर पिलर फेला पार्नु भएको हो । ११ नम्बर पिलर भएको टाकुल्ले भन्ने स्थान चिनियाँ पक्षले भवन बनाएको लाप्चाबाट दुई दिनको पैदल दूरीमा छ ।

नेपाल र चीनको सीमामा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन् । नापी विभागका अनुसार सबै ठाउँमा पिलर नै नराखिएकाले उत्तरी सीमा छुट्याउने ठाउँलाई मार्कर भनिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.